सबैभन्दा बढी कोरोना संक्रमित आठराइ त्रिबेणीमा,जिल्ला भरमा संक्रमणका कारण १८ जनाको ज्यान गयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ, असार १६ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको बिबरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन् । यो जिल्ला भरीका स्थानीय तहमध्ये सबैभन्दा बढी हो । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार फुङ्लिङ नगरपालिकामा ५२ जना,मेरिङदेन गाउँपालिकामा ३२ जना,मैवाखोलामा ३१ जना,मिक्वाखोलामा १२ जना,पाथीभरा याङ्वरकमा १ जना,सिरिजंगामा ४४ जना,फक्ताङ्लुङमा ११ जना र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गरिएका मध्ये १ सय १० जना सक्रिय कोरोना संक्रमित रहेको खरेलले जानकारी दिनुभयो । यो सहित जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६९ जना रहेको समेत उहाँले बताउनुभयो । संक्रमित भएका मध्ये ८ सय २४ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय संक्रमित सबै एन्टीजेन बिधिबाट परीक्षण गरेको संख्या रहेको एन्टीजेन बिधिबाट कूल ३ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो ।
मृतक संख्या १८ पुग्यो
स्वास्थ्य कार्यालयले ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएको छ । स्वास्थ्य कार्यालयले संकलन गरी अद्यावधिक गरेको बिबरण अनुसार ७ पुरुष र ११ महिलाको ज्यान गएको छ । बिबरण अनुसार सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा १२ जना,मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकामा गाउँपालिकामा २–२ जना तथा सिरिजंगा र मिक्वाखोल गाउँपालिकामा १–१ जनाको ज्यान गएको बिबरण स्वास्थ्य कार्यालयले प्रेषण गरेको छ ।
पीसीआर बिधिबाट करिव साढे २१ सयको परीक्षण
कोरोना भाइरसका दोस्रो भेरिएन्ट सुरु भएयता पीसीआर बिधिबाट कूल २ हजार १ सय ६७ जनाको परीक्षण गरिएको छ । सो मध्ये ४ सय ९८ जनामा संक्रमण पुष्टी भएकोमा अहिले पीसीआर बिधिबाट परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आइ सकेको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।