| |

सिरिजङ्गा हुनुपर्नेमा सिरिजङ्घा भएकाले सच्याउन माग

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २७ ।
ताप्लेजुङको एक स्थानीय तहको नामाकरण बिग्रिएकोभन्दै स्थानीयले सुधार्नुपर्ने माग गरेका छन् । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिकाको नाम सिरिजङ्गा हुनुपर्ने भन्दै स्थानीयले सुधार गर्नुपर्ने माग गरेका हुन् ।
उक्त स्थानीय तह अर्थात गाउँपालिकाको नाम सच्याउनका लागि विशेष गरेर स्थानीय लिम्बू समुदायले जोड दिएका छन् । किराती लिपिका पुनरुत्थापक, प्रचारक तथा अध्यात्मवादी समाज सुधारकका रुपमा चिनिएका इतिहास व्यक्तित्व सिरिजङ्गा सिङ् थेबेको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो । उनै इतिहास व्यक्तित्वको नाममा नामाकरण गरिएको गाउँपालिकाको नाम सिरिजङ्गा हुनुपर्नेमा सिरिजङ्घा भएकाले सच्याउन माग गर्न थालिएको छ ।
फुङ्लिङ नगरपालिकापछि धेरै वडा रहेको अर्थात साविक आठवटा गाविस समेटिएको उक्त गाउँपालिकाको नाम परिवर्तन गराउनका लागि ‘सिरिजङ्गा नाम सुधार अभियान समिति’ नै गठन गरेर अभियान सुरु गरिएको छ । गाउँसभाबाट नै नाम सच्याउनका लागि गाउँपालिका कार्यालयमा निवेदन पेश गरिसकेको समितिका संयोजक कैलास माबोले बताउनुभयो । नाम बिग्रिएर अर्थात अपभ्रंस भएर इतिहास नै नामेट हुने अवस्था आएकाले नाम सुधार अभियान सुरु गरेको माबोको भनाइ छ ।
लिम्बू इतिहासमा राजा सिरिजङ्गाको अवतार ‘त्येअङ्सी सिरिजङ्गा’ भनेरसमेत चिनिँदै आएका सिरिजङ्गा नै यथार्थ नाम भएको प्रशस्तै प्रमाण रहेको सिरिजङ्गा नाम सुधार अभियान समितिले जनाएको छ । समितिका अनुसार विक्रम सम्बत् १७६१ मा जन्मनुभएका सिरिजङ्गासँग सम्बन्धित विभिन्न लेखहरु र २०४९ सालमा प्रकाशित हुलाक टिकटमा पनि सिरिजङ्गा नै उल्लेख छ । यिनै सबुत प्रमाणसहित नाम सुधार्नका लागि पहिलो पटक गाउँपालिका कार्यालयलाई निवेदन चढाएको समिति संयोजक माबोले बताउनुभयो ।
जिल्लामा लिम्बू समुदायको बाहुल्य बासोबास रहेको साथै अधिकांश ठाउँको नाम लिम्बू भाषा र संस्कृतिसँग सम्बन्धित भएकाले हालको नौवटा स्थानीय तहको नामाकरण पनि अधिकांस लिम्बू पहिचानबाट गरिएका छन् । यता जिल्लाका अग्रजहरुले पनि सिरिजङ्घा नभई सिरिजङ्गा नै यथार्थ नाम भएको बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts