मेरिङ्देन गाउँपालिकाद्धारा दोभान बजारका अग्नि पीडितले पाउने क्षतिपूर्तिको रकम सार्वजनिक,भुक्तानी भने बैंक खातामार्फत मात्रै हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाको दोभान बजारका अग्नि पीडितका लागि भनेर बिपद् प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको अहिले सम्मको राहत रकम क्षतिको आधारमा पीडितलाइ बितरण गर्ने भएको छ ।

अहिले सम्म खातामा जम्मा भएको ७९ लाख ३९ हजार रुपैंयालाइ पीडितको क्षतिका आधारमा ३ वर्गमा बिभाजन गरी बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको आधारमा वर्ग बिभाजन गरी पीडितलाइ बैंक खातामार्फत भुक्तानी हुने गरी बितरणको प्रवन्ध गरिएको छ ।

उहाँका अनुसार ३५ पीडित घर परिवारले ‘क’वर्गको राहत स्वरुप १ लाख ९९ हजार रुपैंयाको दरले रकम बुझी लैजाने छन् । ७ घर परिवारले‘ख’वर्गको राहत स्वरुप जनही ९० हजार र ८ घर परिवारले‘ग’वर्गको राहत स्वरुप २५ हजार रुपैंयाका दरले रकम बुझी लैजाने छन् ।

प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार आगलागी नियन्त्रण गर्न भत्काइएको स्थानमा ग्याभिन लगाउने कार्यमा ५० हजार,आगलागी नियन्त्रणका क्रममा प्रयोग भएको स्काइभेटरको इन्धन खर्च ३० हजार र पीडितका लागि बनाइएको अस्थायी घर(टेन्ट)मा बिद्युत व्यवस्थापनका लागि ५५ हजार रुपैंया खर्च भएको छ ।

गाउँपालिकाले पीडित परिवारले पाउने रकमको बिबरण सार्वजनिक गर्दै रकम बितरणको मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।

Similar Posts