|

इराकसँग नेपाल ६–२ गोलले पराजित

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ १६ । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।
खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले भने आत्मघाती गोल गरेका थिए । १४ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरियाभित्र गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।
२९ औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् । ३९ औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए । ७५ औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए ।खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जाने छ ।
कुवेतमा नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्ने छ । जुन ३ मा हुने पहिलो खेलपछि नेपालले जुन ७ मा जोर्डनको सामना गर्ने छ । यस्तै दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलिया विरुद्ध स्पर्धा गर्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts