|

समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न पालिकाका वडा–वडामा पुगी परीक्षण गर्दै सिरिजङ्घा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा–वडामै पुगेर परीक्षण गर्न सुरु गरेको छ । एन्टीजेन परीक्षणमार्फत वडातहमै पुगेर कोरोेना मिल्दो जुल्दो लक्षण देखिएका र संक्रमितहरुसंग नजिक रहेकाहरुको परीक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोली लिएर पालिका भित्रका वडा–वडा पुग्न थाल्नु भएको छ । उहाँका अनुसार १० जेठको गाउँ कार्यपालिकाको बैठकले एन्टिजेन कीटमार्फत शंकास्पद विरामीमा परीक्षणको दायरा बढाउने र आवश्यकता अनुसार वडा–वडामै पुगी परीक्षण गर्ने निर्णय लिएको थियो । सोहि अनुसार वडा नं ७ खेवाङमा पुगेको टोलीले त्यहाँ ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनाको रिर्पोट पोजेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । वडा–वडामै पुगी परीक्षण गर्दा दुई बिषयमा एकसाथ फाइदा पुग्ने गाउँपालिकाको बिश्वास रहेको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार पहिलो त,समुदाय स्तरमै फैलिइ सकेको हो भने संख्या पत्ता लगाइ नियन्त्रण गर्न सहज हुने छ । दोस्रो,मान्छेमा सचेतीकरणको भाव पैदा हुने छ ।‘वडास्तरमा पहिलो परीक्षण गरिएको स्थान खेवाङको नतिजाले नै कोरोना संक्रमण समुदायस्तमा पुगेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि परीक्षण तथा उपचारको दायरा फराकिलो बनाउनुपर्ने स्पष्ट मार्गचित्र दिएको छ’घिमिरेले भन्नुभयो । उहाँले यो परीक्षणबाट गाउँपालिकालाइ संक्रमण रोकथाम,नियन्त्रण तथा संक्रमित व्यवस्थापन र उपचारको पहुँच स्थापित गर्न मार्गप्रसस्त भएको र आगामी यात्रा त्यहिँ दिसामा केन्द्रित गरिने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts