| |

कृषि कर्ममा व्यस्त गाउँघरका किसान

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ ४ ।
ताप्लेजुङमा दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले शहर बजार ठप्प हुँदा ग्रामीण क्षेत्रका बासिन्दा भने कृषि कर्ममा व्यस्त बनेका छन् । जिल्लामा सङ्क्रमण दर तीब्र रुपमा बढेपछि गरिएको निषेधाज्ञाले शहर बजार सुनसान बनेको छ भने गाउँमा केही चहलपहलसँगै किसानहरु कृषि कर्ममा जुट्दै आएका हुन् ।
शहरभन्दा गाउँमा केही खुला परिवेश रहेको गाउँलेले अनुभूति गर्दै आएका उनीहरु खेतीपाती (कृषि कर्म) मा व्यस्त रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को महामारीले आतङ्कित बनाइरहेको अवस्थामा पनि गाउँलेहरु प्राकृतिक जीवनशैलीमा रमाउन अर्थात कृषि कर्ममा लाग्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले हिँडडुल गर्न, यातायात, उद्योग, कलकारखाना सञ्चालन लगायतमा प्रतिवन्धसहित निषेधाज्ञाले ग्रामीण क्षेत्रका किसानसमेत प्रभावित भने भएका छन् । तर, चहलपहल र हिँडडुलमा रोक लगाए पनि गाउँघरमा सर्वसाधारणलाई भने फुर्सद छैन । उनीहरू यतिबेला मकै गोड्ने लगायत अन्य बाली स्याहार्ने र दैनिक घर चलाउनमा व्यस्त देखिन्छन् ।

बारीमा मकै गोड्दै नाङ्खोल्याङका किसान ।

सदरमुकाम फुङ्लिङ बजारमा निषेधाज्ञाले सुनसान भए पनि गाउँमा किसानहरु यतिबेला निक्कै नै व्यस्त रहेका आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङकी टीका लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार मकै लगायतका बाली गोडमेल र स्याहार्ने साथै धानको बीउ (ब्याड) राख्ने समय भएकाले किसान व्यस्त बनेका हुन् । रोजगारी र अन्य सिलसिलामा जिल्लाबाहिर गएकाहरु फर्किएकाले थप जनशक्तिसहित गाउँमा यतिबेला कृषि कर्मको चटारो नै रहेको उहाँले बताउनुभयो ।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका स्थानीय योगेन लिम्बूले पनि गाउँका किसान कृषि कर्ममा व्यस्त रहेका बताउनुभयो । गाउँमा पनि सकेसम्म स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी किसानहरु कृषि कर्ममा जुट्दै आएका लिम्बूको भनाइ छ । खेतीपातीमा जुट्ने समय भएकाले बाहिर रहेका जनशक्ति पनि अहिले घर–गाउँ फर्केकाले काम गर्नलाई पनि सहज भएको किसानले बताएका छन् ।
मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका पासाङ शेर्पाले सिजनमा गरिने कृषि कर्मले किसानको जीवनशैलीलाई सहज हुने बाहिर हिँडडुल र जमघट नगरी आफ्नै खेतबारीमा काम गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि कम हुने बताउनुभयो । उहाँहरु जस्तै यतिबेला ग्रामीण क्षेत्रका किसानहरु कृषि कर्ममै जुट्दै आएका छन् । जिल्लाको लेकाली क्षेत्र र तल्लो औल–बेँसी सबै क्षेत्रका किसानहरु आ–आफ्नो खेतबारीमा साथै खेतीबाली रहेको ठाउँमा गोडमले, स्याहार–सुसार लगायत कृषि कर्ममा जुट्दै आएका पाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts