विकास निर्माणमा सुरक्षा,समन्वय र सहजीकरण प्रशासनको दायित्व : प्रजिअ दाहाल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३१ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले विकास निर्माणका कार्यमा सुरक्षा,समन्वय र सहजीकरण प्रशासनको दायित्व हुने बताउनु भएको छ । दाहालले आफु पारदर्शी तवरले काम हुनुपर्नेमा प्रतिबद्ध रहेको बताउँदै शान्ति सुरक्षामा सम्झौता नगर्ने समेत बताउनुभयो ।
ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारी भएर आउनु भएका दाहालले बुधवार यहाँका सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा जिल्लाका प्रशासनिक निकायले गर्ने कार्य सम्पादन निश्पक्ष र सेवाग्राहीमैत्री हुने विश्वास दिलाउनुभयो । प्रमुख जिल्ला अधिकारीको रुपमा आफ्नो पहिलो अनुभव भएपनि करिव एकदशक देखि गृह प्रशासनमा रहेर काम गर्दाको अनुभवलाई आफुले कार्य सम्पादनमा प्रयोग गर्ने प्रजिअ दाहालको भनाई छ । सेवा प्रवाहमा नागरिकका गुनासो आउन नदिनेगरी कार्य गर्ने बताउनु भएका दाहालले कानुनी हिसावले उपयुक्त तर व्यवहारिक हिसावले कठिनाई भएका बिषयको समस्याको गाँठो फुकाउन आफु तयार रहेको समेत बताउनुभयो । आफु समूहगत कार्य सम्पादनमा विश्वास राख्ने व्यक्ति भएको बताउँदै प्रजिअ दाहालले प्रशासन कार्यालय सहितका जिल्लाका निकायले प्रदान गर्ने सेवा नागरिकमैत्री भए नभएको सुक्ष्म विश्लेषण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खबरदारी र प्रोत्साहन दुबैको अपेक्षा आफुले सञ्चारकर्मीबाट राखेको जनाउनुभयो ।
सकारात्मक पैरवी र सूचना संप्रेषणले कार्य सम्पादन गर्ने निकाय र व्यक्तिको कार्यशैली र मनोवल उच्च हुने तर्क गर्दै प्रजिअ दाहालले सुधार हुनुपर्ने बिषय औंल्याएर सेवा प्रवाह थप चुस्त र व्यवस्थित बनाउन सकिने धारणा समेत राख्नु भएको छ । दाहालले विपद्संग सम्वन्धित सूचनाहरु यर्थातपरक भएमा मात्र विपद् पूर्व तयारी र प्रतिकार्यको कार्य सहज र प्रभावकारी हुने दावी गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले निर्माण गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा थप बिषय अद्यावधिक समेत गरी विपद् व्यवस्थापनका कार्यमा आफ्नो निकायको प्रभावकारिता बृद्धि गर्ने योजना रहेको समेत प्रजिअ दाहालले सुनाउनुभयो । आम सञ्चार संस्था र सञ्चारकर्मीसंग आफु जहिल्यै उदार भइरहेको र हुने बचन दिनु भएका प्रजिअ दाहालले शब्दले सभ्यता,संस्कृति र संस्कार चिनाउने भएकोले सेवाग्राहीका भावनाको उचित सम्बोधन हुनेगरी कार्य गर्न जिल्लाका सबै सरकारी कर्मचारीलाई आग्रह समेत गर्नु भएको छ । धनुषा,खोटाङ,भक्तपुर सहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसक्नु भएका दाहालले असार २८ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएको हो । यसअघिका प्रजिअ शिवराज सेढाइँको पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।