| |

सिदिङ्वाले तोक्यो एम्बुलेन्स भाडा दर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३० ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एम्बुलेन्स सेवाको भाडा दर निर्धारण गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सको स्थानीय तथा पालिका बाहिर सेवा उपभोग गर्दा लाग्ने भाडादर निर्धारण गरिएको हो ।
सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जारी गर्नुभएको सूचनाअनुसार एम्बुलेन्स सेवाको भाडा दर पाँच सयदेखि ३० हजार रुपैयाँसम्म तोकिएको छ । गाउँपालिका केन्द्र साब्लाखुभित्र पाँच रुपैयाँ भाडा तोकिएको छ भने पालिका केन्द्र नजिकका वडा नं. ३ आँखोप र वडा नं. ५ लिम्बुदिनका लागि एक हजार रुपैयाँ तोकिएको छ ।
यस्तै गाउँपालिकाको वडा नं. २ सादेवा र वडा नं. ६ मेहेलेका लागि एक हजार ५०० रुपैयाँ तोकिएको छ भने वडा नं. १ कालिखोला र वडा नं. ७ सुरुम्खिमका लागि दुई हजार रुपियाँ भाडा तोकिएको छ । उक्त भाडा दर सम्बन्धित वडादेखि साब्लाखु स्वास्थ्य चौकीसम्म कार्यान्वयन हुने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै पालिका बाहिर एम्बुलेन्स सेवा लिनुपरेमा साब्लाखुदेखि सिरिजङ्घा गाउँपालिका वडा नं. ७ खेबाङसम्म पाँच हजार, वडा नं. ८ याम्फुदिनलाई सात हजार रुपैयाँ तोकिएको छ ।

सिरिजङ्घा गाउँपालिकाकै वडा नं. १ सिनाम पञ्चमीलाई दुई हजार, वडा नं. २ आम्बेगुदिन खाम्दिमे बजारलाई चार हजार र सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकसम्मका लागि पाँच हजार रुपैयाँ भाडा तोकिएको छ । साब्लाखुदेखि सदरमुकाम फुङ्लिङ र पाँचथर सदरमुकाम फिदिम सम्मलाई समान पाँच हजार रुपैयाँ भाडा तोकिएको छ । यसैगरी इलामसम्म सात हजार, झापा विर्तामोड १० हजार, दमक १२ हजार, सुनसरीको इटहरीसम्मलाई १४ हजार र धरान तथा विराटनगर सम्मका लागि १५ हजार रुपैयाँ एम्बुलेन्स भाडा दर तोकिएको छ । साब्लाखुदेखि काठमाडौंलाई भने ३० हजार रुपैयाँ भाडा तोकिएको छ ।
सिदिङ्वा गाउँपालिकाले भर्खरैदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो भने एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समितिले गरेको निणय अनुसार उक्त भाडा दर निर्धारण भई कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिनुभएको छ । यता पालिकाका प्रत्येक वडासम्म सडकको पहुँच पुग्ने क्रमसँगै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएकाले स्थानीय जनता तथा सेवाग्राहीलाई सुविधा पुग्ने विश्वास लिइएको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो । गाउँमा अहिलेसम्म एम्बुलेन्स सुविधा नभएको अवस्थामा सेवा सुरु गरिएकाले स्थानीयबासीलाई राहत पुगेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाको भनाइ छ ।
पालिकाभित्रका सुत्केरी महिला, ६० वर्ष भन्दामाथि उमेरका र शहीद तथा बेपत्ता परिवारका सदस्यलाई तोकिएको भाडा दरमा ३० प्रतिशत छुटसुविधा हुने पनि गाउँपालिकाले जनाएको छ । हाल ताप्लेजुङका नौ स्थानीय तहमध्ये केहीलेबाहेक अधिकांस स्थानीय तहले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts