| | |

सिदिङ्वाद्वारा कोरोना नियन्त्रणका योजना सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २४ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका योजना सार्वजनिक गरेको छ । भारतको सिक्किम र छिमेकी जिल्ला पाँचथरसँग सिमाना जोडिएको सिदिङ्वा गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने लगायतका योजना सार्वजनिक गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जारी गर्नुभएको सार्वजनिक सूचनाअनुसार कोरोना भाइरसको नयाँ भेरियन्टसहित दोस्रो लहर फैलिएको अवस्थामा यसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्र तथा विदेशबाट आउने नागरिकका लागि सम्बन्धित वडाले नै होमआइसोलेसन व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । यस्तै गाउँघरमा हुने भलिबल, फुटबलजस्ता खेलकुदजन्य गतिविधि पूर्ण रुपमा बन्द गरिएको छ ।
गाउँपालिकाले खाद्यान्न तथा अति आवश्यक बाहेकका सबै यातायात आवागमन तथा आवत-जावतलाई प्रतिवन्ध गरेको छ भने विवाह, बर्खन्तजस्ता सामाजिक क्रियाकलाप गर्दा स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर बढीमा २५ जनासम्म मात्र सहभागी हुन पाउने छन् । पालिका केन्द्रस्थित भञ्ज्याङ बजार बिहान ६ देखि ९ बजे र साँझ ३ देखि ६ बजेसम्म मात्र खुल्ने भएको छ ।
त्यस्तै गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीले आवश्यक मास्क, स्यानिटाइजर, फेस सिल्ड लगायत स्वास्थ्य सावधानी अपनाउनुपर्ने, प्रयोग र व्यवस्था गर्नुपर्ने भएको छ भने गाउँपालिका र वडा कार्यालयले नगरी नहुने अति आवश्यक सेवा मात्र प्रवाह गर्ने भएका छन् । स्थानीय तहस्तरीय संकट व्यवस्थापन केन्द्रले गरेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts