| |

कोरोना असरः स्थगित गरिँदै विवाह र मृत्यु संस्कारका कार्य

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख २३ ।
ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण विवाह तथा मृत्यु संस्कार लगायतका कार्यहरु स्थगित गर्न थालिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै जिल्लामा अहिले विवाह, मृत्यु संस्कार तथा अन्य धार्मिक क्रियाकलापहरु बन्द गरिएको हो ।
कोभिड–१९ सङ्क्रमणको जोखिम ह्वात्तै बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै भेला, गोष्ठी, जमघट तथा भीडभाड हुने अन्य कुनैपनि कार्यहरु नगर्न भनेपछि जिल्लामा विवाह, मृत्यु संस्कार र धार्मिक गतिविधिहरु स्थगित गर्न थालिएको हो । स्थानीयका अनुसार बैशाख महिनाका लागि यसअघि नै तय भएका वैवाहिक कार्यहरु, मृत्यु संस्कारका कार्यहरु शुद्धाई, बर्खान्त, धार्मिकअन्तर्गन चौरासी पूजा, रक्षाबन्धन (वर्तबन्ध), पञ्चौली, सन्सारी पूजा, ज्ञान महायज्ञ (पुराण) जस्ता कार्यहरु स्थगित गरिएको छ ।
धार्मिक तथा जातीय परम्पराअनुसार वैवाहिक, मृत्यु तथा धार्मिक नित्य–कर्महरु गर्नुपर्ने भए पनि सङ्क्रमणको जोखिमका कारण स्थगित गर्न बाध्य हुनुपरेको स्थानीयले बताएका छन् । यस्ता कार्यहरुमा अनिवार्य भीडभाड हुने भएकाले पूर्व निर्धारित सबै क्रियाकलाप स्थगित गरिएको सम्बन्धित परिवारले जनाएका छन् । यतिबेला जिल्लावासीले स्थानीय सञ्चारमाध्यम एफएम रेडियोमार्फत सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सहज नहुँदा सम्मका लागि तयारी गरिएको आ–आफ्नो क्रियाकलाप स्थगित गरेको जनाएका छन् ।
यता कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा सङ्क्रमणकै कारण तीन जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमण दर तीब्र रुपमा बढ्दै गइरहेको छ । सबैभन्दा बढी सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाभित्र सङ्क्रमण फैलिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार बुधबार सम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरी पठाइएका अझै ६० जनाको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
सङ्क्रमण फैलिएपछि फुङ्लिङ नगरपालिकामा आगामी बैशाख २७ गते सम्मका लागि निषेधाज्ञा गरिएको छ । सङ्क्रमण दर अझ बढ्दै गएको अवस्थामा निषेधाज्ञाको समय थप हुने सङ्केत जिल्ला प्रशासन कार्यालय गरेको छ । नगरपालिकाबाहेक जिल्लाका अन्य आठवटा स्थानीय तह (गाउँपालिका) ले पनि गएको सोमबारदेखि नै अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts