उच्च विपद् जोखिममा रहेका परिवारलाई चालुबर्ष भित्रै स्थायी पुर्नवास क्षेत्रमा स्थानान्तरण गर्ने फक्ताङलुङको योजना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई चालु आर्थिक बर्षभित्रै सुरक्षित आवासमा स्थानान्तरण गर्ने गरी प्रकृया अघि बढाएको जनाएको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार वडा नं १ सावादिन र वडा नं २ खेजेनिमका जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जमिन खरिद गरी भवन निर्माणको कार्य अघि बढाईएको र चालु आर्थिक बर्षभित्रै सुरक्षित आवासमा स्थानान्तरण गरिसकिने छ । यसअघि मैवाखोला गाउँपालिकाले पहिरोबाट बिस्थापित ६५ घर परिवारलाई अस्थायी आवासगृहमार्फत व्यवस्थापन गरेको छ भने स्थायी आवास गृह निर्माणको कार्य थालनी भईसकेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनु भएको छ ।

फक्ताङलुङ गाउँपालिकाले विपद्का कारण उच्च जोखिममा रहेका घर परिवारको पहिचान गरी उनीहरुलाई सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरी स्थानान्तरण गर्ने कार्य चालु आव भित्रै पूरा गर्नेगरी प्रकृया अघि बढाएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले पालिकाको केन्द्र तापेथोकमा निर्माणाधिन अवस्थामा रहेको प्रमुख प्रशासकीय भवन २०८३ सालको असोज महिना भित्रमा सञ्चालनमा ल्याई नयाँ भवनबाटै सेवा प्रवाह गर्ने समेत जनाएको छ । यसका लागि पालिकाले आवश्यक स्रोत,साधन,जनशक्ति र उपकरणको अधिकतम् प्रयोग गरी निर्माण कार्य तत्काल पूरा गर्न निर्माण व्यवसायीलाई तागेता गरिरहेको जनाएको छ ।

पालिकाले प्रमुख प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको समेत जनाएको छ । पालिका भित्रका सबै बिद्यालयको न्यूनतम् भौतिक पूर्वाधारमा कुनै कमी हुन नदिनेगरी पूर्वाधारको कमीरहेका सबै बिद्यालयको पहिचान गरिएको र सोहि अनुसार चालु आर्थिक बर्षमै पालिकाका सबै बिद्यालयल न्यूनतम् भौतिक पूर्वाधारले सुसज्जित भएको बनाउने पालिकाको योजना रहेको छ । पालिका भित्रका सबै स्वास्थ्य इकाई तथा स्वास्थ्य संस्थाहरुको अधुरा संरचना पूरा गर्ने तथा बिद्यालयमा रहेका र अन्य सार्वजनिक स्थानका खेल मैदानको निर्माण कार्य समेत चालु बर्षभित्र पूरा गर्ने पालिकाको तयारी रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts