| | |

सहकारीले रणनैतिक योजना बनाउनुपर्नेमा जोड

अरुलाई पनि शेयर गरौ !

राजकुमार गुरुङ
ताप्लेजुङ, बैशाख १३ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीलाई सक्षम र सवल बनाउन रणनैतिक योजनाको आवश्यक रहेको बताउनुभएको छ । हालसम्म सहकारी संघ/संस्थाको रणनैतिक योजना नभएकै कारण सोचेजस्तो अघि बढ्न नसकेको पोखरेलले बताउनुभयो ।
सदरमुकाम फुङ्लिङमा सोमबार जिल्ला सहकारी संघ र पूर्वेली पर्यटन सहकारी संस्थाद्वारा आयोजित रणनैतिक योजना निर्माण गोष्ठीमा महासंघका उपाध्यक्ष पोखरेलले पछिल्लो समय सहकारी संघ/संस्थालाई रणनीतिक योजना निर्माणका गर्नमा प्रेरित गर्दै आएको बताउनुभयो । बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महासंघले रणनैतिक योजना निर्माणमा सहयोग गरिरहेको उहाँले बताउनुभयो । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा आयोजित रणनैतिक योजना निर्माण गोष्ठीमा सहकारीहरुलाई सक्रिय र व्यावसायिक बनाउँदै दिगो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले रणनैतिक योजना बिना लक्ष्यअनुसार प्रगति गर्न नसकिने बताउँदै वैज्ञानिक ढंगले योजना निर्माण गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो ।

सहकारी गोष्ठीका सहभागी ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले नगरभित्रका पर्यटन, कृषिलगायत उत्पादनमुलक क्षेत्रमा सक्रिय सहकारीलाई सहयोग गर्ने बताउनुभयो । उपप्रमुख भट्टराईले ताप्लेजुङ पर्यटकीय जिल्ला भएकाले पर्यटन सहकारीको प्रवर्ध्दन र विकासका लागि सहयोग गरिने बताउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष टामन सिग्देलले स्थानीय तहहरुले ऐन नियम, नीति बजेट बनाउँदा जिल्ला सहकारी संघसँग समन्वय गर्न आग्रह गर्नुभयो ।
पूर्वेली पयर्टन सहकारी संस्थाका अध्यक्ष श्रीकुमार लिम्बूले ताप्लेजुङमा समुदायमा आधारित नमुनास्तरको पर्यटन सहकारी निर्माण गर्ने उद्देश्यसहित रणनैतिक योजना निर्माण गर्न सुरु गरेको बताउनुभयो । आगामी दिनमा दिगो र गुणस्तरीय पर्यटन उद्यम सञ्चालन गर्नेगरी योजना बनाउन पुर्वेली संस्थाका सल्लाहकार संयोजक खेलप्रसाद बुढाक्षेत्रीले सुझाव दिनुभयो ।
दुई दिने गोष्ठीमा कञ्चनजङ्घा पोलिटेक्निक इन्स्टिच्युट नेपालका प्रशिक्षक निर्मल सिग्देल र केशबप्रसाद पोखरेलले सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सन्तोष खतिवडा लगायतको उपस्थिति रहेको जिल्ला सहकारी संघले जानकारी दिएको छ । गोष्ठी भने फुङ्लिङस्थित होटल माउण्टेनको सभाहल आयोजना गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts