शहीदहरुको स्मरण गरेर लोकतन्त्र दिवस मनाइदै
–उज्यालो पोष्ट
काठमाडौं, बैशाख ११ । आज वैशाख ११ लोकतन्त्र दिवस । २०६२ र ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । आजको दिनलाई जनताको शासन जनताको हातमा आएको दिनका रुपमा लिने गरिन्छ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०५९ जेठ ८ गते संसद विघटन गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए । सात दल र सशस्त्र युद्धमा होमिएको नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो । सोहै ६२/६३ को जनआन्दोलनको शक्तिबाट राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भएका थिए ।
यसरी नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौंं शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रत्येक वर्ष विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरिन्छ । आज कोरोना कहरकाबीच शहिदको सम्झाना गर्दै लोकतन्त्र दिवस मनाइने जनाइएको छ ।