आर्थिक अभावका कारण नागरिकले आँखाको उपचार पाएनौं भन्न दिन्नौ: डाक्टर रुईत,शिविरमा उत्साहजनक उपस्थिति
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ५ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनैपनि नागरिकले आर्थिक अभावका कारण आँखा उपचारको पहुँच पाएनौं भन्न अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठानद्धारा निर्मित आँखा शल्यकृया कक्षको उद्घाटन समारोहलाई शनिवार फुङलिङमा सम्बोधन गर्दै डाक्टर रुईतले पैसा नहुँदा मोतियाबिन्दुको शल्यकृया गर्न पाएनौं भन्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।‘पैसाकै अभावका कारण मोतियाबिन्दुको शल्यकृया गर्न पाएनौं भन्ने अवस्था आउने छैन,हामी आउन दिदैनौं’उहाँले आर्थिक स्थिति कमजोर भएका र गरिवीकै कारण आँखाको उपचारको पहुँचमा आउन नसकेकालाई आँखा उपचारको पहुँचमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालको रुपमा रुपान्तरण गर्ने योजना बनाईरहेको बताउँदै अघिल्लो बर्ष सञ्चालित आँखा शिविरमा शल्यकृय कक्षको स्थापनाको समस्या सुनाएको थियो । डाक्टर रुईत आफैं उपस्थित आँखा शिविरको समापनका बेला नेपाल नेत्रज्योति संघ ताप्लेजुङले शल्यकृया कक्षको खाँचो औंल्याएपछि समापन मन्तव्यका क्रममा रुईतले डिचेन डोङ्गलामा आँखा शल्यकृया कक्ष बनाईदिने घोषणा गर्नु भएको थियो । सोहि अनुरुप डिचेन डोङ्गलामा सुविधासम्पन्न आँखा शल्यकृया कक्ष निर्माण भई शनिवार उद्घाटन गरिएको हो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले अब डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा चिकित्सक आवास कक्ष निर्माण गर्न आवश्यक रहेको र त्यसका लागि दाताहरुसंग प्रस्ताव गरिएको जानकारी दिनुभयो । चिकित्सक आवास कक्षको स्थापना भएपछि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालमा स्तरोन्नती गरी मासिक रुपमै आँखाको शल्यकृया सेवा सुरु गर्ने योजना रहेको नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङ बताउँनुहुन्छ ।
यसैबिच फुङलिङमा सुरु चारदिने निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु भएको छ । शिविरको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले आँखाका रोगीहरुको सहज उपचार र ताप्लेजुङबाटै मासिक रुपमै शल्यकृया सहितको सेवा आरम्भ गर्ने योजनाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले शल्यकृया कक्ष बनाईदिएकोमा तिलगंगा आँखा प्रतिष्ठानलाई धन्यवाद समेत दिनुभयो ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुसार शनिवारबाट सुरु शल्यकृयासहितको आँखा शिविरको पहिलो दिन ३ सय ५३ जनाले आँखा परीक्षणका लागि नाम दर्ता गरेका छन् । त्यसमध्ये ६८ जनालाई मोतियाबिन्दुको शल्कृयाको लागि छनौट गरिएको छ । डाक्टर सन्दुक,उहाँका छोरा सागर र बिदेशी नागरिक चिकित्सक डाक्टर जेएफसहित करिव २० जनाको टोलीले आँखाको शल्यकृया सहितको शिविरमा सेवा दिईरहेको नेपाल नेत्रज्योति संघका सचिव युवराज गिरीले जानकारी दिनुभयो ।