आँखा शिविरका लागि डाक्टर रुईत गृह जिल्ला ताप्लेजुङमा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ४ । फुङलिङमा शनिवारबाट सुरु हुने चारदिने शल्यकृयासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरका लागि विश्व विख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत ताप्लेजुङ आइपुग्नु भएको छ ।

रुईतको नेतृत्वमा डाक्टर जेएफ(विदेशी चिकित्सक)सहितको चिकित्सक तथा प्राविधिकको टोली फुङलिङ आईपुगेको हो । इलामको माङ्सेबुङमा सम्पन्न आँखा स्वास्थ्य शिविर सकिएपछि डाक्टर रुईत गृह जिल्ला ताप्लेजुङमा आयोजित आँखा शिविरका लागि यहाँ आइपुग्नु भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा शिविर प्रचारप्रसार समिति संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

डाक्टर रुईतसहितको टोलीलाई नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङको नेतृत्वमा रहेको टोलीले मेवाखोला हिल रिर्सोटमा स्वागत गरेको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार शिविरको पहिलो दिन परीक्षण तथा चेकजाँचको काम बिहान १० बजेपछिबाट सुरु हुने र दिउँसो १ बजे शिविर र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तिलगंगा आँखा प्रतिष्ठानद्धारा निर्मित शल्यकृया कक्षको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Similar Posts