एसईई उत्तर पुस्तिका जाँचको निर्णय: सिरिजङ्गाले माध्यमिक तहका बिषय शिक्षकलाई स्टेनवाई राख्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । एसईई परीक्षाको उत्तर पुस्तिका सम्वन्धित केन्द्रमा नै परीक्षण गर्ने सरकारी तयारी पछि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्रका माध्यमिक बिद्यालयका बिषय शिक्षकलाई काज र बिदामा बस्न प्रतिवन्ध गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बुधवार एक सूचना प्रकाशित गरी एसईई परीक्षा सम्पन्न भई उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न नभएसम्मका लागि पालिका भरीका माध्यमिक तहका बिषय शिक्षकलाई बिदा नछाड्न सम्वन्धित बिद्यालयका प्रधानाध्यापकलाई आग्रह गरेका छन् । शिक्षा मन्त्रीको निर्देशन तथा शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङको पत्रानुसार पालिकाले यस्तो आग्रह गरेको हो ।
सरकारले यो बर्ष एक महिना भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप परीक्षा समाप्त भएका बिषयको उत्तर पुस्तिका सम्वन्धित जिल्ला भित्रमा नै परीक्षण गरी मार्कस्लिप मात्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नीति लागु गर्न खोजेको छ ।