चुनावमा बामपन्थी शक्तिबिरुद्ध अर्को मोर्चा बनाउँदैनौं : नेता आङ्वो,केवलकार आम सहमतिमा बनाउनुपर्ने धारणा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २९ । नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्र आङ्वोले बामपन्थी शक्ति बिरुद्ध अर्को मोर्चा बनाउने कार्यमा नेकपा नरहेको बताउनु भएको छ । नेकपा कोशी प्रदेशसभा संसदीय दलका नेता तथा कोशी सरकारका पूर्व अर्थमन्त्री समेत रहनु भएका आङ्वोले लोकतान्त्रिक शक्तिसंग सदन र सडकमा सहकार्य तथा बामपन्थी शक्तिसंग निर्वाचनमा सहकार्य गर्ने रणनीति पार्टीको रहेको बताउनुभयो ।

नेकपाको दुई महिने जागरण अभियान चलिरहेकै बेला ताप्लेजुङ आईपुग्नु भएका आङ्वोले आइतवार फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत बामपन्थी शक्तिसंग सत्ता सहकार्य र आउने स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कार्यगत एकताको तयारीमाा पार्टी रहेको खुलाउनुभयो ।‘पार्टीलाई सुद्रिढ र संगठित बनाएर पहिला त एक्लै निर्वाचमा होमिने पार्टीको रणनीति हुने छ’आङ्वोले भन्नुभयो‘दोस्रो विकल्पमा बामपन्थी शक्तिबिच निर्वाचनमा मोर्चाबन्दी गर्ने प्रकृयामा पार्टी अघि बढ्ने छ’। कहिकतै बामपन्थी शक्तिबिच पार्टी एकतासम्मको चर्चा भएपनि नेकपा तत्काल पार्टी एकता भन्दा चुनावी एकताको पक्षमा रहेको उहाँको भनाई थियो । उहाँले स्थानीय तह र प्रदेशसभामा लोकतान्त्रिक तथा बामपन्थी शक्तिको वर्चश्व कायम गर्दै राष्ट्रियसभामा समेत आफुहरुको उपस्थिति बलियो बनाएर संसदीय सन्तुलन कायम गर्ने पक्षमा पार्टी रहेको बताउनुभयो ।

दुई तिहाई नजिकको बर्तमान संघीय सरकार अधिनायकवादतर्फ उन्मुख हुन थालेको बताउँदै आङ्वोले अधिनायकवादले मातिन थालेको सरकारलाई नियन्त्रणमा राख्न समेत स्थानीय र प्रदेशसभा निर्वाचनमा बामपन्थी शक्तिबिच चुनावी एकताको महशुष भइरहेको दावी गर्नुभयो । बिस्तृत शान्ति सम्झौता र १९ दिने जन आन्दोलन पक्षधरबिच सदन र सडकमा सहकार्य हुने र बामपन्थी शक्तिबिच चुनावी एकता हुनेतर्फ देशको राजनीति अघि बढेको उहाँले बताउनुभयो । ६ महिनासम्म दिएको शंकाको सुविधालाई सरकारले अधिनायकवादी शैलीको रुपमा रुपान्तरण गरी सरकारले देश सञ्चालनमा सहि लय नसमाएको बताउनु भएका आङ्वोले सरकारले अघि सारेका सञ्चार बिधयेक,सामाजिक सञ्जाल नियन्त्रण तथा नियमन बिधयेकसहित कयौं कानुनी प्रावधानमार्फत जनताका अधिकार कुण्ठित गर्न थालेको आरोप समेत लगाउनुभयो । दलीय तथा संगठनात्मक सुद्रिढीकरण,संविधान र लोकतन्त्रको संरक्षणका लागि पार्टीले २ महिने जागरण अभियान थालेको र जागरणकै क्रममा पार्टीका कार्यकर्ताको भावना बुझ्ने र त्यसको सम्बोधन गर्नेतर्फ पार्टी अघि बढ्ने आङ्वोको भनाई थियो ।

आङ्वोले कोशी प्रदेश सरकारले ल्याएको बजेट पुनरावलोकन हुने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।‘अबको बजेट पुनरावलोकनमा विगतमा भएको बजेटको असन्तुलन हटाएर नेता र मन्त्रीको प्रभावमा तय भएका योजना र बजेटमा सापेक्ष परिवर्तन हुने छ’आङ्वोले भन्नुभयो । कोशी प्रदेश सरकारले पारित गरेको भाषा बिधयेक र कोशी प्रदेशसभा सञ्चालन नियमावलीले पहिचान र प्रदेश नामाङ्कन पुनरावलोकनको आधार सृजना गरेको समेत आङ्वोले बताउनुभयो । भाषा बिधयेकले पहिचानको मुद्दालाई सरकारी तवरबाट थप व्यवस्थित र सुद्रिढ गर्ने दावी गर्दै आङ्वोले कोशी प्रदेशसभा सञ्चालन नियमावली पारित भएपछि अब सदनका एक तिहाई सदस्यले प्रदेश नामाङ्कनको बिषयलाई पुनरावलोकनका लागि सदनमा प्रस्ताव ल्याउन सक्ने बाटो खुलेको समेत बताउनुभयो ।‘सदनका दुई तिहाई सदस्यको बहुमतले पारित गरेमा कोशी प्रदेशको पुनःनामाङ्करण पनि सम्भव छ’आङवोले भन्नुभयो ।

पाथीभरा केवलकारको काम ठप्प भएको बिषयमा पत्रकारको जिज्ञासा बारे प्रतिक्रिया दिदैं आङ्वोले पार्टी केवलकार निर्माणको विपक्षमा नभएपनि स्थानीय सरोकावालालाई सहमति नल्याई बन्दुक र गोलीको भरमा केवलकार निर्माण गर्न भने नहुने उहाँको भनाई थियो । निजी क्षेत्रको लगानी निरुत्साहित पनि गर्न नहुने र स्थानीय सरोकारवालालाई सहमतिमा समेत ल्याएर मात्र केवलकार निर्माण गर्नुपर्ने आङ्वोले बताउनुभयो । सुकेटार–काफ्लेपार्टी सडक,पाथीभरा लिफ्टिङ खानेपानी आयोजनासहितका ताप्लेजुङका थुप्रै विकासका आयोजनाहरु अबरुद्ध रहेको बताउँदै आङ्वोले यहाँका जनप्रतिनिधि र सरोकारवालाको सुद्रिढ दबाबको आवश्यकता समेत औंल्याउनु भएको छ ।

Similar Posts