पाथीभरामा एकैदिन ११ हजार बढीले गरे मन्दिरको दर्शन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २८ । कात्तिक महिनाको अन्तिम शनिवार(आज)ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा यो बर्षकै सबैभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिवार ११ हजार २ सय ७२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका हुन् । शनिवारको संख्याले गत कात्तिक १७ गते मंगलवार पाथीभरामा पुगेका दर्शनार्थीको संख्याको अभिलेख तोडेको छ । उक्तदिन १० हजार ६ सय १६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । हाङवाङका अनुसार एकैदिन पाथीभरा मन्दिरको दर्शनमा यति धेरै दर्शनार्थी पुगेको करिव तीनबर्ष यताकै सबैभन्दा ठूलो संख्या हो ।‘म कार्यकारी निर्देशक भएपछि एकैदिन यतिधेरै दर्शनार्थी आएको चाँही यो पहिलो हो’हाङवाङले भन्नुभयो । उहाँका अनुसार गत कात्तिक १७ गते मन्दिर पुगेका दर्शनार्थीको संख्या पनि आफु कार्यकारी निर्देशक भएपछि एकैदिन मन्दिर पुगेका संख्या तीनबर्ष यताकै पहिलो थियो । चारबर्षे कार्यकालको नियुक्ति पाउनु भएका हाङवाङको कार्यकाल यही कात्तिक २१ गतेबाट तीनबर्ष पूरा भएको छ ।
मन्दिरको दर्शनका लागि आउने तथा जाने दर्शनार्थीको चाँप बढेपछि शुक्रवार राति अबेरसम्म दर्शनार्थीलाई आवासको प्रवन्धका लागि विभिन्न संस्था अग्रसर भएका थिए । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समिति,ताप्लेजुङ उद्योग वाणिज्य संघ,नेपाल रेडक्रस सोसाईटी र होटल व्यवसायी महासंघ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुले आवासको प्रवन्ध हुन नसकेका तीर्थालुलाई विभिन्न सार्वजनिक स्थलमा आवासको प्रवन्ध गरेका थिए । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले दर्शनार्थीको चाप बढी भएपछि आवासको प्रवन्धमा कठिनाई व्यहोरी रहेका तीर्थालुलाई सामाजिक संघसंस्थाको अगुवाईमा विभिन्न सार्वजनिक स्थलहरुमा आवासको प्रवन्ध गरिएको जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रका काफ्लेपार्टी,माथिल्लो फेदी,मन्दिर क्षेत्रसहितमा दर्शनार्थीको आवाससहितको व्यवस्थापन कार्यको सहजीकरण गरेको थियो ।