सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा ८ टीम सहभागी हुने,पुरस्कार राशी समेत सार्वजनिक गरियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र बिजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ ।
आयोजक तेल्लोक स्पोर्टिङ क्लवले शुक्रवार त्येअङसी सिरिजङ्गा सिंहथेबेको जन्मभूमि तेल्लोकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टीम तथा बिजेताले पाउने पुरस्कार राशी सहित सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेलाका बारेमा औपचारिक जानकारी दिएको हो । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार सिरिजङगा गोल्डकपमा आयोजकको एकसहित ८ टीम सहभागी हुने भएका छन् । यसपटक आयोजकको प्रतिनिधित्व खेवाङ स्पोर्टिङ क्लवले गर्ने भएको छ । प्रतियोगितामा सैनिक युथ क्लव झापा,युनाईटेड खर्साङ फुटबल क्लव भारत,रेडहर्ष फुटबल क्लव इलाम,पाँचथर फुटबल क्लव पाँचथर,युनिक महादेव क्लव बेलवारी,मोरङ,मरिक फुटबल क्लव धरान र म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुम सहभागी हुने भएका छन् ।
क्लवका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ५१ हजार ३२२ रुपैयाँ तथा द्धितीय हुनेले १ लाख ७५ हजार ३२२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । गोल्डकपका प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद ३ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक तेल्लोक स्पोर्टिङ क्लवका सचिव रञ्जित मावोले जानकारी दिनुभयो । मावोका अनुसार बिधागत पुरस्कारतर्फ सर्बोत्कृष्ट एक खेलाडीलाई नगद १० हजार रुपैयाँ तथा सर्बाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान जनही नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । गोल्डकप तथा मेला सञ्चालनका क्रममा करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । तेल्लोक स्पोर्टिङ क्लवका सहसचिव शशीहाङ थेबेका अनुसार गोल्डकप तथा मेला सिरिजङ्गा सिंहथेबेको जन्म जयन्तीको अवसर पारेर मंसिर २९ गते समापन गर्न लागिएको हो । यसपटक सिरिजङ्गा सिंहथेबेको ३ सय २२ औं जन्म जयन्ती पनि हो । आयोजकले सोहि अनुसार पुरस्कार रकमको अन्तिम अंक ३ सय २२ राखेको आयोजक संस्थाले जनाएको छ ।
सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गा सिंहथेबेको जन्म भएको स्थलमा परिचित रहेको छ । सिरिजङ्गा सिंहथेबेलाई किराँत लिम्बू लिपिका प्रचारक,प्रकाण्ड बिद्धान,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेताको रुपमा लिने गरिन्छ । सिरिजङ्गा सिंहथेबेले पु-याए को योगदानको सम्मान तथा संरक्षण गर्ने,थेबेको योगदानको प्रचार–प्रसार गरी सामाजिक जागरणमा नयाँ आयाम स्थापित गर्ने,धार्मिक पर्यटन प्रर्वद्धनमा योगदान पु-याउने,खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने र खेल कौशलको प्रर्वद्धनात्मक विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा सिरिजङ्गा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुपदास भट्टराई,जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका पूर्व अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश),त्येअङसी सिरिजङ्गा सिंहथेबे स्मृति संस्थाका अध्यक्ष रुकमान थेबे,तेल्लोक स्पोर्टिङ क्लवका पदाधिकारी,सदस्य,सल्लाहकार तथा संरक्षकहरुको सहभागिता रहेको थियो । आयोजक तेल्लोक स्पोर्टिङ क्लवले त्येअङ्सी सिरिजङ्गा सिंहथेबेको जन्म भूमि वा सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेस्थित लिम्बू संग्राहलयमध्ये एकबाट खेल तालिका सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।