फुङलिङमा मंसिर ५ देखि हुने चारदिने आँखा स्वास्थ्य शिविरको तयारी तीव्र,शल्यकृया कक्षको उद्घाटन समेत गरिने

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २८ । मंसिर ५ गतेदेखि ८ गते सम्म ताप्लेजुङको फुङलिङमा हुने आँखा स्वास्थ्य शिविरको तयारी तीव्र बनाईएको छ ।

मुख्य आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाका उपसभापति तथा आँखा स्वास्थ्य शिविर प्रचार–प्रसार समितिका संयोजक खगेन्द्र अधिकारीका अनुसार नेत्रज्योति संघ ताप्लेजुङ शाखाद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवनमा स्वास्थ्य शिविर सञ्चालन हुने गरी तयारी गरिएको छ । शिविरमा नाम दर्ता वापत जनही ६० रुपैयाँ लाग्ने र औषधि निःशुल्क रुपमा बितरण गर्ने प्रवन्ध गरिएको समेत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४० बर्ष माथि उमेर समूहका नागरिकलाई पढ्नका लागि आवश्यक पर्ने चश्मा समेत निःशुल्क दिईने छ । पढ्नका लागि आवश्यक पर्ने बाहेक अन्य चश्माको भने शुल्क लाग्ने छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार अतिथि स्वागत सत्कार उपसमिति,प्रचार–प्रसार उपसमिति,आवास व्यवस्थापन उपसमिति र स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरी शिविरको तयारीलाई तीव्र बनाईएको हो । तोकिएका उपसमितिमार्फत शिविर सञ्चालन तथा व्यवस्थापनको तयारी अघि बढाईएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । शिविरमा परिचालन हुने स्वयंसेवक व्यवस्थापनको कार्य समेत सुरु गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमार्फत डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवनमा शल्यकृया कक्ष निर्माण भएको छ । शिविरकै समय पारेर शल्यकृया कक्षको समेत उद्घाटन गर्ने कार्यतालिका तय भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले जानकारी दिनुभयो ।

आँखा स्वास्थ्य शिविरमा विश्व बिख्यात नेत्र रोग बिशेषज्ञ प्राध्यापक डाक्टर सन्दुक रुईतको नेतृत्वमा चिकित्सक तथा प्राविधिक टोली फुङलिङ आउन लागेको हो । डाक्टर रुईतसहित तीनजना नेत्र बिशेषज्ञ र प्राविधिक कर्मचारी गरी करिव २० बढी जनशक्तिमार्फत आँखा स्वास्थ्य शिविरमा सेवा प्रवाह हुने भएको छ । स्वयंसेवक देखि सुरक्षा व्यवस्थापनसम्मको तयारी पूरा गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं,रुईत फाउण्डेसन काठमाडौं,फुङलिङ नगरपालिका र लाइन्स क्लव अफ काठमाडौं,लाइन्स रुपान्तरण आयोजक भई शिविर सञ्चालन हुन लागेको हो । लाभग्राहीले अधिकतम् सेवा लिन सकुन् भन्ने उद्देश्यका साथ ४ दिनको शिविर आयोजना गरिएको र उक्त शिविरमा सहभागी भई सेवा लिन आँखाका बिरामीहरुलाई नेपाल नेत्रज्योति संघ ताप्लेजुङले आग्रह समेत गरेको छ ।

Similar Posts