फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलाको तयारी तीव्र, फुङ्फुङ्गे क्षेत्रमा सरसफाई गरियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । मंसिर २ गते देखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको तेम्बामा हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलाको तयारी तीव्र पारिएको छ ।
आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले कार्यक्रमस्थल तथा नजिकै रहेको फुङ्फुङ्गे झरना क्षेत्रको सफाई गरेको छ । मेला मूल आयोजक समितिका संयोजक तथा फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार प्रचार–प्रसार,आन्तरिक तयारी,आर्थिक व्यवस्थापन र कार्यक्रम स्थलको व्यवस्थापनसहितका कार्यलाई तीव्र रुपमा अघि बढाईएको छ ।‘हामीले पर्यटन तथा साँस्कृतिक मेलाका सबै तयारीलाई एकसाथ अघि बढाएका छौं’साँवाले भन्नुभयो‘तिहार लगत्तै अरु सबै तयारीलाई पूरा गरेर हामी पूर्ण तयारीका साथ पर्यटन तथा साँस्कृतिक मेलालाई भव्य रुपले सम्पन्न गर्ने छौं’ ।
मिक्वाखोलाका प्रमुख उत्पादन र पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आउँदो मंसिर २ गते देखि ६ गतेसम्म मेलाको आयोजना गरिएको छ । मेलामा झरनाको सौन्दर्य प्रर्वद्धन,पुरुष फुटबल प्रतियोगिता,साँस्कृतिक कार्यक्रम,लघु उद्यम,कृषिजन्य उत्पादन तथा मौलिक र रैथाने संस्कृतिको प्रर्दशनीलाई आयोजकले मुख्य आर्कषणको रुपमा लिएको छ । तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला आर्थिक समितिका संयोजक सुकबहादुर साँवाका अनुसार यहाँका प्रमुख नगदेवाली अलैंची,सुन्दर मनमोहक फुङ्फुङ्गे झरना र लोदेन क्षेत्रसहितका पर्यटकीय स्थल तथा कृषिजन्य उत्पादनको प्रचार र प्रर्वद्धन गर्ने मुख्य उद्देश्य राखेर पर्यटन तथा साँस्कृतिक मेलाको आयोजना गरिएको हो । पर्यटन तथा साँस्कृतिक मेला आयोजक समितिले अघिल्लो बर्ष झैं यसबर्षपनि पुरुष फुटबल प्रतियोगिताका बिजेतालाई नगदको सट्टा अलैंची पुरस्कार दिने छ ।
मेला आयोजक समितिका संयोजक साँवाका अनुसार पुरुष फुटबलतर्फ प्रथम हुनेलाई ३ लाख २ हजार ८३ रुपैयाँ र दोस्रो हुनेलाई १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप प्रदान गरिने छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ । फुटबलका बिधागततर्फ उत्कृष्ट हुनेले समेत नगदको सट्टा अलैंची नै पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । अलैंचीको प्रर्वद्धन र उत्पादनको उचित बजारीकरणमा सघाउनका लागि आयोजकले यस्तो जुक्ति निकालेको अध्यक्ष साँवाले जानकारी दिनुभयो । अथितिलाई समेत अलैंची नै उपहार प्रदान गर्नेगरी आयोजकले व्यवस्थापन गर्ने साँवाको भनाई रहेको छ । करिव तीनसय मिटर अग्लो चट्टानबाट खस्ने फुङ्फुङ्गे झरना बाह्रैकाल अटुट रुपले पानी बहने नेपालका कमैमध्येको एक प्राकृतिक सौन्दर्य बोकेको क्षेत्र हो ।