चिठ्ठा,जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवारबिरुद्ध ताप्लेजुङ प्रशासनको कडाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गैर कानुनी रुपमा चिठ्ठा,जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय कारोवारबाट हुने ठगी नगर्न र हुन नदिन सार्वजनिक आवह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा भीडभाड,होहल्ला र हुलदंगा नगरी चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गर्नु भएको छ । प्रजिअ दाहालद्धारा जारी विज्ञप्तिमा आतिशबाजी,पटका,भुईचम्पा,बम वा अन्य कुनै बिष्फोटक तथा आगलागी हुने पदार्थको खरिद,बिक्री,ढुवानी र प्रयोग नगर्न तथा नगराउन अपिल गरिएको छ । अत्यावश्यक बस्तुमा कृतिम अभाव सृजना गर्ने,कालो बजारी,मूल्यबृद्धि,म्याद नाघेका तथा अखाद्य बस्तु बिक्री बितरण गरे हदैसम्मको कारवाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ ।

प्रशासन कार्यालयले सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन,तोकिएको दर भन्दा बढी भाडा नलिन,ट्राफिक नियम पालना गर्न गराउन आग्रह गरेको छ । यात्रुलाई बिशेष आग्रह गर्दै प्रशासन कार्यालयले केहि सहयोग आवश्यक परेमा वा केहि गुनासो तथा राय भएमा फुङलिङस्थित तोक्मेडाँडामा स्थापित यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

चाडपर्वको बहानामा धार्मिक,जातीय तथा सामाजिक सद्भाव खलल हुने कुनैपनि गतिविधि नगर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ । चाडपर्वको समयमा पनि आपूर्ति,आपतकालिन स्वास्थ्य र अन्य आपतकालिन सेवालाई नियमित बनाउन समेत प्रशासन कार्यालयले सम्वन्धित पक्षलाई आग्रह गरेको छ । देऊसी,भैलो लगायतका साँस्कृतिक कार्यक्रम मर्यादित,अनुशासित र व्इवस्थित ढंगले सञ्चालन गर्न समेत प्रशासन कार्यालयले सम्वन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

Similar Posts