कृषि क्षेत्रमा व्यवसायीमुखी बन्दै सिदिङ्वा: यसपटकको तिहारमा आफ्नै नर्सरीको फूलले कार्यालय सजाउँदै कर्मचारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १९ । सयपत्री फूलमा व्यवसायिक उत्पादन सुरु भएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यसबर्षको तिहारमा आफ्नै नर्सरीमा उत्पादन भएको फूलले कार्यालय भवन सजाउने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार कार्यालय कर्मचारीले आफ्नै नर्सरीमा उत्पादन भएको फूल टिपेर माला गाँसेर कार्यालय परिसर सजाउन थालेका हुन् ।‘हाम्रै आफ्नै नर्सरीमा मनग्गे फूल उत्पादन भएको छ,कर्मचारी आफैंले फूल गाँसेर माला बनाई कार्यालयमा लक्ष्मी पूजा गर्ने तयारी गर्नु भएको छ’सिवाले भन्नुभयो । सिदिङ्वा गाउँपालिकाले पालिकाको केन्द्र रहेको साब्लाखु आसपासको जमिन भाडामा लिई फूल,तरकारीबाली र अन्य कृषिजन्य उत्पादनका बिरुवाको नर्सरी स्थापना गरेको छ ।

नर्सरीमा स्थापना भएको बिरुवा पालिकाले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको र सोहि बिरुवाबाट यसबर्ष सयपत्री फूलले पालिकाको आवश्यकता धानेर तेस्रो बजारमा समेत व्यवसायिक निर्यात गर्न सकिएको पालिकाका आर्थिक विकास शाखा प्रमुख विकास थेबेले जानकारी दिनुभयो । फूल संगै पालिकाकै नर्सरीमा उत्पादन भएको टमाटरका बिरुवा लगेर किसानले रोपेका बिरुवाबाट यसबर्ष व्यवसायिक उत्पादन भएको थेबेले बताउनुभयो । दर्जन बढी किसानले व्यवसायिक रुपमा उत्पादन गरेको टमाटर पाँचथर,इलाम र झापाको बजारसम्म पुगेको थेबेले जानकारी दिनुभयो ।

पालिकाको नर्सरीबाट किसानले आफुलाई आवश्यक पर्ने कृषिजन्य उत्पादनका बिरुवासहित रोपण,मलखादको व्यवस्थापन,सिचाँई र अन्य आवश्यक परार्मश समेत संगै पाउने गरेका छन् । सहुलियत दरमा बिरुवा मात्र नदिई प्रविधि र सीप समेत हस्तान्तरण हुने भएकोले पालिकाको नर्सरी केन्द्रबाट पालिकाका किसानले अधिक लाभ लिन थालेको पालिका अध्यक्ष मानबहादुर राईको भनाई रहेको छ ।‘हाम्रो अभियान पालिका क्षेत्रलाई पूर्णतया कृषिमा व्यवसायमुखी बनाउने हो,त्यसमा हामीले सफलता पाउँदै गएका छौं’पालिका अध्यक्ष राईले भन्नुभयो । पालिकाको नर्सरी र पालिकाका किसानले लगाएको फूल खेति र कृषिजन्य उत्पादनको लोभलाग्दो अवस्था देखेर अहिले सिदिङ्वा पुगेका पाहुनाले नर्सरी क्षेत्र र किसानले लगाएको बालीको अवलोकन तथा त्यहाँ पुगेर मनोरञ्जन लिने गरेको पालिकाले जनाएको छ ।

 

Similar Posts