जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई मध्यनजर गर्दै पाथीभरा याङवरकद्धारा ५ बिधामा खेलकुद प्रशिक्षक छनौट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १८ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई मध्यनजर गर्दै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५ बिधाका खेलकुद प्रशिक्षक छनौट गरी सेवा करार गर्ने भएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका युवा तथा खेलकुद शाखा प्रमुख ठाकुर प्रधानका अनुसार भलिबल,कबड्डी,कराँते,उसु र तेक्वादो बिधाका खेल प्रशिक्षक छनौट गरिएको हो । छनौट भएका खेलकुद प्रशिक्षकलाई ७ दिन भित्रमा सेवा करार सम्झौताका लागि उपस्थित हुन पालिकाले सूचित गरेको छ ।

प्रधानका अनुसार छनौट हुने खेलकुद प्रशिक्षकमा भलिबलतर्फ सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङका यामबहादुर भट्टराई,कबड्डीतर्फ मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमामा दावा शेर्पा,कराँतेतर्फ चुचाचुली गाउँपालिका वडा नं ८ इलामका मनकुमार योङहाङ,उसुतर्फ सन्दकपुर गाउँपालिका वडा नं ४ इलाममा प्रनिसा राई र तेक्वादोतर्फ रोङ गाउँपालिका वडा नं २ इलामका उज्वल वाइवा रहनु भएको छ ।

पाथीभरा याङवरकले गत भदौ ३१ गते सेवा करार सम्झौता गर्नेगरी खेलकुद प्रशिक्षकका लागि आबेदन गरेको थियो । प्राप्त हुन आएका आबेदनका आधारमा पालिकाले अन्तरवार्ताका माध्यमबाट खेलकुद प्रशिक्षक छनौट गरी छनौट भएका प्रशिक्षकलाई सेवा करार सम्झौताका लागि ७ दिनको समय दिएको हो ।

यसबर्ष हुने १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाथीभरा याङवरकमा हुने गरी अघिल्लो बर्ष सिदिङ्वामा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापनका दिन पाथीभरा याङवरकले जिम्मेवारी ग्रहण गरेको थियो ।

Similar Posts