व्यवसायिक कृषि प्रणालीमा सिदिङ्वाको उछाल,फूलपछि गोलभेडाको व्यवसायिक निर्यात सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । सयपत्री फूलपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गोलभेडामा व्यवसायिक लय लिन थालेको छ ।
फूलको उत्पादनमा व्यवसायिक उछाल सृजना गरेको पालिकाले कृषिजन्य उत्पादनतर्फ गोलभेडामा पालिका आत्मनिर्भर भई व्यवसायिक रुपले पालिका भन्दा बाहिरका बजारमा निर्यात गर्न सक्ने छबि स्थापित गरेको हो । पालिकाका आर्थिक विकास शाखा(कृषि विकास शाखा)प्रमुख विकास थेबे पालिकाको नर्सरीबाट उत्पादित बिरुवा कृषकको खेतवारीसम्म पुगी व्यवसायिक उत्पादन हुन थालेको बताउँनुहुन्छ् ।‘पालिकाका नागरिकले आफ्नो उपभोग सुनिश्चित गरी कृषिजन्य उत्पादनलाई व्यवसायिक रुपले बजारसम्म निर्यात गर्नसक्ने क्षमता बनाएका छन्’थेबेले भन्नुभयो । पालिकाका नागरिकले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजारीकरणमा पालिकाले सघाउँदै आएको छ । हालसम्म पालिकाका दर्जन हाराहारी कृषकले आफ्नो खेतवारीमा उत्पादन भएको कृषिजन्य उत्पादन आसपासका विभिन्न बजारमा निर्यात गरिसकेको थेबेले जानकारी दिनुभयो । यसअघि पालिकाले आफ्नो नर्सरी क्षेत्रमा फूलको बिरुवा उत्पादन गरी व्यवसायिक रुपले खेति गर्ने किसान पहिचान गरी उनीहरुलाई पुष्पखेतिका लागि प्रोत्साहित गरेको थियो ।
सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले पालिकाका किसानले फूलको व्यवसायिक उत्पादन थालेको र पालिका र आसपासका उपभोक्ताले स्थानीय उत्पादन उपभोग गरी कोशी प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई मागका आधारमा निर्यात समेत गर्ने गरेको जानकारी दिनुभयो् । उहाँका अनुसार पालिकाले मौसम अनुसारका फूलका बिरुवा नर्सरीमार्फत किसानलाई उपलब्ध गराई बाह्रैकाल फूलको व्यवसायिक उत्पादन थाल्ने योजना बनाएको छ । पालिकाले कृषिजन्य उत्पादनलाई पूर्ण व्यवसायीमुखी बनाउन पालिकाको केन्द्र आसपासको जमिन भाडामा लिई विभिन्न प्रजातिका बिरुवाको नर्सरी सञ्चालन गरेको छ । पालिकाले तयार गरेको नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई सहुलियत दरमा उपलब्ध गराउने र नर्सरी केन्द्रमार्फत किसानलाई कृषिजन्य बस्तुको रोपण,मलखादको व्यवस्थापन,रोग किरा नियन्त्रण,जैविक मलको प्रयोग र पानी तथा स्याहारका उपाय बारे प्राविधिक जानकारी समेत प्रदान गरिदैं आएको थेबेले जानकारी दिनुभयो ।
थेबेका अनुसार पालिकाको नर्सरीबाट किसानले कृषिजन्य उत्पादनका बिरुवा मात्र पाउँदैनन्,रोप्ने तरिका देखि उत्पादन,भण्डारण र बजारीकरणसमेतका परार्मश प्राप्त गर्नेछन् । कृषिजन्य उत्पादनको बजारीकरण सुनिश्चित गर्ने योजना बनाएको पालिकाले चिस्यान केन्द्र निर्माण गरी त्यसबाट भण्डारण सुनिश्चित गर्ने बताएको छ । चिस्यान केन्द्र निर्माण भई त्यसलाई प्रभावकारी सञ्चालन हुनेतहको बनाउने पालिकाको योजना रहेको पालिका अध्यक्ष मानबहादुर राई बताउँनुहुन्छ । उत्पादनको बजार अभाव हुन नदिने बताएको पालिकाले पालिका र आसपासका मुख्य बजार बाहेक पाँचथर र इलाम हुँदै झापासम्म कृषिजन्य उत्पादनको निर्यात गर्ने योजना बनाएको छ । अर्गानिक कृषि उत्पादनलाई जोड दिँदै पालिका अध्यक्ष राईले कृषि र पशुपालनमा बलियो सम्भावना रहेको सिदिङ्वाको माटो सुहाउँदो खेति प्रर्वद्धन गर्न पालिकाले कृषक प्रोत्साहन देखि खेति प्रणालीमा सहयोग पुग्ने उपकरण,बिरुवा,मल बीऊ र परार्मशलाई थप व्यवस्थित गर्ने जानकारी दिनुभयो ।