सिरिजङ्गा वडा नं २ आम्बेगुदिनमा खाम्दिम्बे सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण गरी सुरु गरियो सेवा प्रवाह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बगुदिनमा खाम्दिम्बे सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण गरी त्यहीबाट सेवा प्रवाह सुचारु गरिएको छ ।
नवनिर्मित भवनको सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले उद्घाटन गर्नु भएको छ । सिरिजङ्गा गाउँपालिका वडा नं २ का अध्यक्ष दिलेन्द्र कुँवर(असिम)का अनुसार भवन ३४ लाख ७० हजार ११२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो । ३४ लाख २० हजार ३ सय ५ रुपैयाँ पालिकाबाट निकासा हुँदा भवन निर्माणतर्फ ४९ हजार ८ सय ७ रुपैयाँ घाटा भएको र स्थानीय जलविद्युत योजनामार्फत सामाजिक उत्तरदायित्वबाट प्राप्त १० लाख ९० हजारमध्ये ९ लाख ९८ हजार ६ सय ७० रुपैयाँ खर्च भई बचत भएको ९१ हजार ३ सय ३० रुपैयाँबाट स्वास्थ्य इकाई निर्माणमा अपुग भएको रकमको शोध धर्ना गरिएको र उक्त बचत रकमबाट भवन उद्घाटन खर्च समेत व्यहोरिएको वडाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि १–१ रोपनीका दरले ३ रोपनी जग्गा निःशुल्क जग्गा दान गर्नहुने दानवीर जग्गादाताहरु क्रमशःशेरबहादुर थेबे,भीमप्रसाद लिम्बू र मानबहादुर राउतलाई सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापन समितिले सम्मान पनि गरेको छ । पालिका अध्यक्ष चौहान,प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे,वडाध्यक्ष कुँवरसहितले जग्गादातालाई सम्मान गर्नु भएको छ । वडाध्यक्ष तथा सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापन समितिका अध्यक्ष कुँवरले स्वास्थ्य इकाई भवन निर्माणको क्रममा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नु भएको थियो । उक्त कार्यक्रमकाबिच वडाध्यक्ष कुँवरले वडाध्यक्षमा निर्वाचित हुनु अघि र वडाध्यक्ष निर्वाचित भइसकेपछि आफ्नो पहल र प्रयासमार्फत भएका सामाजिक कार्यहरुको विवरण समेत पेश गर्नु भएको थियो ।
वडाध्यक्ष कुँवरले २०७१ सालबाट २०८३ सालको असोज तेस्रो सातासम्म आफ्नो पहल र प्रयासबाट भएका भौतिक पूर्वाधार,भवन,शिक्षा,स्वास्थ्य,खानेपानी,सडक,सामाजिक विकास र सामाजिक तथा धार्मिक संघसंस्थासहितका बिषयमा आफुले गरेका झण्डै दुईदर्जन सामाजिक विकासका कार्यहरुको बुँदागत रुपले प्रस्तुत गर्नु भएको थियो । सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण उद्घाटन तथा खर्च विवरण सार्वजनिक समारोहमा सिरिजङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जिव सिंह,वडा नं २ का वडा सदस्यहरु,टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि,वडा नं २ मा रहेका बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरु र सञ्चारकर्मीहरुसहितको उपस्थिति रहेको थियो ।