मैवाखोला,मिक्वाखोला र सिदिङ्वाले वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले असोज २६ गते देखि प्रत्येक वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार सनराइज बैंक लिमिटेड साँघु शाखामार्फत पालिकाका प्रत्येक वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बितरण हुन लागेको हो । प्रमुख प्रशासकीय अधिकृत शेर्पाका अनुसार ६ नं वडा कार्यालयमा असोज २६ गते,५ नं वडा कार्यालयमा २७ गते,४ नं वडा कार्यालयमा २८ गते,२ नं वडा कार्यालयमा २९ गते र १ नं वडा कार्यालयमा असोज ३० गते सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ । पालिकाको केन्द्र रहेको वडा नं ३ का लाभग्राहीका लागि भने असोज २६ देखि ३० गतेसम्म सनराएज बैंक साँघुमार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुने भएको छ ।
उता,सिदिङ्वा गाउँपालिकाले २७ गते देखि २९ गतेसम्म सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय चौधरीका अनुसार असोज २७ गते वडा नं १ कालिखोला र वडा नं २ सादेवाको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बितरण हुने भएको छ । असोज २८ गते ६ नं वडा कार्यालय मेहेले र ७ नं वडा कार्यालयमा सुरुम्खिममा तथा असोज २९ गते ३ नं वडा कार्यालय भवन आङखोपमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने भएको छ । वडा नं ४ साब्लाखु र वडा नं ५ लिम्बूदिनको हकमा सिदिङ्वा गाउँपालिकास्थित लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा कार्यालय समयभित्र जुनसुकै बेला सामाजिक सुरक्षा भत्ता बितरण हुने समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिनुभयो ।
मिक्वाखोला गाउँपालिकाले वडा नं ४ को हकमा असोज २३ गते शुक्रवारबाटै पालिकास्थित प्रभु बैंक लिमिटेडमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार २६ गते वडा नं ५ पापुङ,२७ गते वडा नं ३ लिवाङ,२८ गते वडा नं १ खोक्लिङ र २९ गते वडा नं २ थापागाउँ खोक्लिङको वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण हुने भएको छ ।