ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु,फुङलिङस्थित वित्तीय संस्थामा कार्यरत एक कर्मचारी सम्पर्कविहिन

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ भने घर जान हिंडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिध्यालाल कुमार शाहका अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी ५० बर्षिय सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो । साब्लाखुस्थित चुहानडाँडा भीरबाट लडेकी बर्देवा उक्त भीरको पुछार क्षेत्र ढाँडवारीमा मृत अवस्थामा फेला पर्नु भएको थियो । स्थानीयले उहाँ एक किराना पसलबाट सामान किनेर फर्कने क्रममा भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुुसार शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी ताप्लेजुङ जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तलाई बुझाईएको छ ।

यता कार्यालय समय बिदा भएपछि घर जान भनी हिंड्नु भएका फुङलिङस्थित ग्रामीण लघु वित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी सिद्धार्थ अधिकारी सम्पर्कविहिन हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी शाहका अनुसार झापाको भद्रपुर नगरपालिका वडा नं ८ बस्ने २३ बर्षिय सिद्धार्थ अधिकारी सम्पर्कविहिन हुनुहुन्छ । उहाँ सम्पर्कविहिन भएको र खोज तलासका लागि प्रहरीकहाँ निबेदन दर्ता भएको समेत शाहले जानकारी दिनुभयो ।

‘हामीले उहाँको घरमा समेत सम्पर्क गरेका छौं,परिवारजनले अहिलेसम्म घर नआईपुगेको जानकारी दिनु भएको छ’शाहले भन्नुभयो । सम्पर्कविहिन भएको र खोजीका लागि कार्यालयमा निबेदन प्राप्त हुनासाथ आफुहरुले खोजतलास कार्य सुरु गरेको तर अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको शाहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रवार कार्यालय बिदा भएपछि घरतर्फ जान हिंड्नु भएका अधिकारी सोमवार कार्यालय सुरु हुँदा उपस्थित भईसक्नुपर्ने थियो । मंगलवार अपरान्हसम्म पनि अधिकारी सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । अधिकारीको फोन मंगलवार अपरान्हसम्म स्विचअफ रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

Similar Posts