काँग्रेसको संस्थापन इतर पक्षले ताप्लेजुङका दुई प्रदेश निर्वाचन क्षेत्र र पालिकामा तोक्यो संयोजक
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले ताप्लेजुङका दुई प्रदेश निर्वाचन क्षेत्र र पालिकाहरुमा संयोजक तोकेको छ ।
नेपाली काँग्रेस १५ औं महाधिबेशन तयारी जिल्ला समितिका संयोजक राज थेबेले प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा ललित गुरुङ र १(ख)मा खेमकुमार कार्कीलाई प्रदेश निर्वाचन क्षेत्र क्षेत्रीय कार्यसमितिको संयोजकको जिम्मेवारी दिनु भएको हो । यस्तै फुङलिङ नगरपालिकाको संयोजकमा चोलुङ सेनेहाङ,फक्ताङलुङ गाउँपालिकाको संयोजकमा राजेन्द्रप्रसाद अन्छङ्वो,सिदिङ्वा गाउँपालिकाको संयोजकमा भीम तामाङ,सिरिजङ्गामा लक्ष्मी थेबे,मेरिङदेनमा दिलकुमार केदेम लिम्बू,मैवाखोलामा दीपेन लिम्बू,आठराई त्रिबेणीमा सनबहादुर लिम्बू,मिक्वाखोलामा लालबहादुर लिम्बू र पाथीभरा याङवरकमा नेत्रबहादुर कार्कीले पालिका संयोजकको जिम्मेवारी पाउनु भएको छ ।
दुबै निर्वाचन क्षेत्र र पालिकाका संयोजकलाई नेपाली काँग्रेसको संगठनलाई थप सक्रिय,व्यवस्थित र जनमुखी बनाउँदै प्रत्येक गाउँपालिका तथा वडामा नियमित बैठक,कार्यकर्ता भेटघाट,संगठन बिस्तार,सदस्य सक्रियता तथा जनसम्पर्क अभियानलाई तीव्रता दिन जिल्ला संयोजक थेबेले जिम्मेवारी दिनु भएको छ । दुबै निर्वाचन क्षेत्रका संयोजकलाई वडा–वडामा संगठनको उपस्थितिलाई प्रभावकारी र चलायमान बनाउन भूमिका निर्वाहको जिम्मेवारी दिईएको थेबेले जानकारी दिनुभयो ।
संस्थापन पक्षले भने असोज १२ गते दुबै प्रदेश निर्वाचन क्षेत्रको कार्य समिति चयन गरेको छ भने पदेन ११ र थप ३३ महाधिबेशन प्रतिनिधि चयन गरी महाधिबेशन प्रतिनिधि काठमाडौंतर्फ लाग्नु भएको छ । संस्थापन इतर समूहले असोज १६ गते यहाँ सम्पर्क कार्यालय स्थापना गरी गतिविधि गरिरहेको छ ।