|

सुनचाँदी व्यवसायी महासंघद्वारा अग्निपीडितलाई राहत वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १३ । ताप्लेजुङस्थित पाथीभरा सुनचाँदी व्यवसायी कला महासंघले अग्निपीडितलाई राहत सामग्री वितरण गरेको छ । महासंघले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई राहत सामग्री वितरढा गरेको हो ।
सुनचाँदी व्यवसायी कला महासंघका जिल्ला अध्यक्ष गंगाराम शङ्खरका अनुसार सोमबार आगलागीस्थल दोभान बजारमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । अग्निपीडित १५ परिवारलाई खाद्यान्नसहितका सामग्री वितरण गरिएको अध्यक्ष शंखरले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्यान्न सामग्रीमा चामल, दाल, खानेतेल, नुन र चिनी वितरण गरिएको छ । त्यस्तै लुगा धुने र नुहाउने साबुन पनि वितरण गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्षसहितका पदाधिकारी र अन्य व्यवसायीको उपस्थितिमा अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
यसैगरी सोमबार नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले पनि अग्निपीडितलाई राहत सामग्री वितरण गरेको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समिति, ताप्लेजुङ उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, सत्यसाई सेवा संगठन नेपालले अग्निपीडितलाई विभिन्न राहत सहायता वितरण गरेको छ । त्यस्तै नेकपा (एमाले) ताप्लेजुङले पनि राहत वितरण गरेको छ ।
गत असोज ८ गते दोभान बजारमा लागेको आगलागीबाट १० वटा घर जलेर नष्ट भएको थियो । सो आगलागीबाट घरधनी आठसहित १५ परिवार विस्थापित भएका छन् । यस्तै आगलागीबाट १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

Similar Posts