दोभानका अग्नि पीडितलाई राहत रकम जुट्दै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित दोभान बजारका अग्नि पीडितका लागि राहत रकम जुट्दै गएको छ ।
शनिवार नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी,मेरिङदेन गाउँपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपालले कुल ४ लाख २१ हजार ११० रुपैयाँ राहत रकम बितरण गरेका छन् । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूका अनुसार १६ घर परिवारलाई समान १० हजार रुपैयाँका दरले १ लाख ६० हजार रुपैयाँ र बाँकी रकम भने क्षतिको विवरणका आधारमा बितरण गरिएको छ । क्षतिको मूल्याङ्कनका आधारमा मेरिङदेन गाउँपालिकाले पीडितहरुको वर्गिकरण गरेको छ । सोहि वर्गिकरणलाई आधार मानेर क्षतिका आधारमा राहत रकम बितरण गरिएको एमाले ताप्लेजुङले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले पीडित १७ परिवारलाई २० हजार रुपैयाँका दरले राहत रकम बितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो । प्रजिअ दाहालका अनुसार पीडित परिवारलाई स्लिपिङ ब्याग र कम्बलसहितका जिन्सी सामग्री समेत बितरण गरिएको छ । मेरिङदेन गाउँपालिकाले पीडितलाई प्रारम्भिक राहत सामग्री बितरण गरेको जनाएको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले प्रारम्भिक राहत बितरण गरिएको र थप राहतका बारेमा पालिकाले तत्काल आवश्यक निर्णय लिने जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य गीतादेवी सेन्दाङ,प्रदेशसभा सदस्य खगेनसिं हाङगाम,पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङसहितको उपस्थितिमा राहत बितरण गरिएको पालिकाले जनाएको छ । दोभान बजारमा अग्नि पीडित घर परिवारलाई सत्य साई सेवा संगठन नेपालकातर्फबाट ग्याँस चुल्हो सेट,प्रेसर कुकर,थाल,बटुवासहितका सामग्री बितरण गरिएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य संघले पीडित परिवारका लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार पीडित प्रत्येक घर परिवारलाई चामल,आलु,दाल,चिनी,तेल,मसला सहितका सामग्रीका साथ प्रति परिवार नगद २ हजार ५ सय रुपैयाँका दरले नगद सहयोग गरिएको छ । आगलागीको भएकै दिन साँझ नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाले कम्बल,लत्ताकपडा,भाडावर्तन सेटसहितका आपतकालिन सामग्री बितरण गरेको शाखा सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
गत बिहीबार अपरान्ह भएको आगलागीबाट दोभान बजारमा ८ घरधनीका १० घर जलेका थिए भने घरधनीले भाडावाल गरी १७ घर परिवार बिस्थापित भएका छन् । आगलागीबाट कुल १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो । दोभान बजारमा २०७७ साल फागुन १८ गते समेत आगलागी भएको थियो । उक्त आगलागीमा ४० घर जलेर नष्ट भएका थिए ।