साब्लाखुको लालीगुराँस बहुउद्देश्यीय महिला समूहद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुस्थित लालगीगुराँस बहुउद्देश्यीय महिला समूहले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समूहले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
समूहकी अध्यक्ष अम्विका घिमिरेले साब्लाखुका विभिन्न तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो । अध्यक्ष घिमिरेका अनुसार सिंहदेवी आधारभूत विद्यालय, इन्द्रावती आधारभूत विद्यालय र गौतमबुद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
उक्त तीनवटा विद्यालयमा अध्ययनरत करिव एकसय जना विद्यार्थीलाई कापी, डटपेन लगायतका शैक्षिक सामग्री वितरण गरिएको समूहकी सचिव अस्मिता खतिवडाले जानकारी दिनुभयो । थोरै भए पनि विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको सचिव खतिवडाले बताउनुभयो ।
एक वर्षअघि स्थापना भएको समूहले संस्थागत हितका कामसँगै गाउँमा विभिन्न सामाजिक गतिविधिसमेत गर्दै आएको समूहकी अध्यक्ष घिमिरेले बताउनुभयो । समूहले वार्षिक उत्सव र अन्य अवसरहरुमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरु गर्दै अघि बढ्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।