काँग्रेस ताप्लेजुङको प्रदेशसभा अधिबेशन सोमवार,करिव साढे १४ सय क्षेत्रीय प्रतिनिधि फुङलिङमा भेला हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । सोमवार हुने नेपाली काँग्रेस ताप्लेजुङको प्रदेश तथा प्रतिनिधिसभा अधिबेशनमा करिव एकहजार चारसय ५० बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुने भएका छन् ।

अधिबेशनले प्रदेशसभा(क्षेत्रीय)कार्य समिति,महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्ने छ । नेपाली काँग्रेस ताप्लेजुङको निर्वाचनमा लागि खटिएका निर्वाचन अधिकृत शिवराज पोखरेलका अनुसार अधिबेशनमा एकहजार चारसय ६४ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुने भएका छन् । काँग्रेस ताप्लेजुङको प्रदेशसभा(क्षेत्रीय) निर्वाचन क्षेत्र नं १(क)को ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहलमा र क्षेत्र नं १(ख)को होटल जन्नु इनको सभाहलमा अधिबेशन गर्ने योजना बनाएको छ । ‘दुबै क्षेत्रीय अधिबेशन सदरमुकाम फुङलिङमै हुने छ’निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत पोखरेलका अनुसार ताप्लेजुङबाट पदेन ११ सहित ४४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय(प्रादेशिक)कार्य समितिका सभापति र पालिका कार्य समितिका सभापति स्वतःपदेन केन्द्रीय महाधिबेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । पदेन बाहेक प्रत्यक्षतर्फ २३ तथा समानुपातिकतर्फ १० गरी ३३ जना महाधिबेशन हलबाट छनौट हुने निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । प्रत्यक्षतर्फ महिला ४,खुल्ला १०,श्रमिक १,पेशागत विषयविज्ञ १,युवा महिला १,युवा खुल्ला २(३५ बर्ष मुनि उमेर समूह)अपाङ्गता १,अल्पसंख्यक १,दलित १ र प्रजातन्त्र सेनानी,सहीद परिवार र द्धन्द प्रभावितबाट १ गरी प्रत्यक्षतर्फ २३ जना महाधिबेशन प्रतिनिधि छानिने भएका छन् । समानुपातिकतर्फ आदिवासी जनजातितर्फ कम्तिमा ३ महिला सहित ७ र खस आर्यतर्फ कम्तिमा १ महिला सहित २ गरी कुल १० जना समानुपातिकतर्फबाट छानिने निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

ताप्लेजुङबाट पदेन बाहेक प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फबाट ४ गरी १२ जना महासमिति सदस्य चयन हुनेछन् । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको सभापति स्वतःमहासमिति सदस्य हुनेछन् । यसो गर्दा पदेन २ सहित ताप्लेजुङबाट १४ जना महासमिति सदस्य हुने देखिएको छ । पदेन बाहेक महासमिति सदस्य हुन महाधिबेशन प्रतिनिधि हुनु अनिवार्य छ । महासमिति सदस्यमा प्रत्यक्षतर्फ २ महिला,५ खुल्ला र १ युवा(३५ बर्ष मुनि उमेर समूह)गरी ८ जना चयन हुनेछन् ।

समानुपातिकबाट आदिवासी जनजातितर्फ कम्तिमा १ महिला सहित ३ जना र खस आर्यतर्फ १ जना गरी कुल ४ जना महासमिति सदस्य चयन हुने नेपाली काँग्रेसको निर्वाचन निर्देशिका २०८३ मा उल्लेख गरिएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिबेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भित्रका प्रदेशसभा क्षेत्रीय अधिबेशनका प्रतिनिधि प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिबेशनका सदस्य हुनेछन् । प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको सभापति प्रतिनिधिसभा क्षेत्रीय अधिबेशनको समेत सभापति हुने काँग्रेसको बिधानमा उल्लेख गरिएको छ ।

Similar Posts