काँग्रेस अधिबेशन : ताप्लेजुङमा पालिका र वडाको अधिबेशन सकियो,प्रदेश र प्रतिनिधिसभाको अधिबेशन असोज १२ मा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ९ । नेपाली काँग्रेस ताप्लेजुङको पालिका र वडा अधिबेशन सकिएको छ ।

वडामा सर्वसम्मत नेतृत्व चयन गरेको काँग्रेसको पालिका अधिवेशनमा ९ मध्ये ७ स्थानीय तहमा सर्वसम्मत र २ स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्वको टुङ्गो लगाईएको छ । नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले वडा र पालिकाको अधिबेशनमार्फत नयाँ नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

ताप्लेजुङको एकमात्र नगरपालिका फुङलिङ नगर समितिमा बिनोद गुरुङ सभापति रहेको समिति बनेको छ । आठराई त्रिबेणीमा सोम बिमली,फक्ताङलुङमा दिलकुमार लिम्बू,सिरिजङ्गामा पूर्णसिंह मावो,सिदिङ्वामा डेनी तामाङ र मैवाखोलामा टीकाराज कार्की सभापति रहेको समिति सर्वसम्मत रुपमा चयन भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकामा अर्जुन खिम्दिङ र मेरिङदेन गाउँपालिकामा बिशाल लङ्वो लिम्बू निर्वाचनमार्फत नेतृत्वमा आउनु भएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा खिम्दिङ र राजकुमार कार्की तथा मेरिङदेनमा लङ्वा र मेघराज चोङ्वाङबिच प्रतिश्पर्धा भएको थियो । नेपाली काँग्रेस ताप्लेजुङको प्रदेशसभा र प्रतिनिधिसभाको अधिबेशन असोज १२ गतेका लागि तय भएको नेपाली काँग्रेस ताप्लेजुङको निर्वाचनका खटिएका निर्वाचन अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो । यसअघि वडा अधिबेशनसंगै भएको क्षेत्रीय प्रतिनिधि छनौट समेत सर्वसम्मत भएको थियो ।

Similar Posts