दोभान आगलागी : ८ घरधनीका १० घर जले,१७ घरपरिवार बिस्थापित,प्रतिकार्यमा जुटे विपद् व्यवस्थापन समिति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा ८ घरधनीका १० घर जलेर नष्ट भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले घरलाई आगोबाट जोगाउने क्रममा केहिघर पूर्ण र केहि घर आशिंक रुपले क्षति हुन पुगेको जानकारी दिनुभयो ।

जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार आगो बिहीबार दिउँसो १ बजेट ३६ मिनेटमा सुरु भएको थियो । गुरुङका अनुसार लाक्पाचुङ शेर्पा(डण्डु) र भीम लङ्वाका दुई–दुईवटा घर जलेका छन् । चन्द्रप्रसाद पौडेल,याम आङवुहाङ,घनश्याम खरेल,राजु शेर्पा र राजेन्द्र पौडेलका एक–एक वटा घर जलेका छन् । गुरुङले घरवाला ८ र डेरागरी बस्ने ९ गरी आगलागीका कारण १७ घर परिवार बिस्थापित भएको प्रारम्भिक जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाको दमकल,नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय दोभान,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सुरक्षाकर्मी तथा स्थानीयको संयुक्त प्रयासमा बिहीबार अपरान्ह आगलागी नियन्त्रणमा लिईएको थियो ।

भारी बर्षा र त्यसपछिको विपद्का कारण हुनसक्ने जोखिमलाई हेरेर गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा‘हाई कमाण्ड पोष्ट’लाई तयारी हालतमा राख्न निर्देशन दिए बमोजिम ताप्लेजुङका सुरक्षा अधिकारीहरु प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको कार्यक्षेत्रमा रहेर विपद्का गतिविधिको सूचना लिईरहनु भएको थियो । त्यही समयमा दोभान बजारमा आगलागी भएको खबर पाउनासाथ दमकल र सुरक्षाकर्मी पठाई स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन सकिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । शुक्रवारसम्मको बिदा लिएर काठमाडौं जानु भएका प्रजिअ दाहाल ‘हाई कमाण्ड पोष्ट’को नेतृत्व सम्हाल्न बुधवार राति नै ताप्लेजुङ आई पुग्नु भएको थियो ।

विपद् सम्वन्धी एकिन तथ्याङ्क लिने,सूचनाको विश्लेषण गरी प्रतिकार्यमा तत्काल जुट्नेसहितका कार्यका लागि गृह मन्त्रालयले यसपटकको भारी बर्षा र त्यसपछिको जोखिमलाई हेरेर प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हाई कमाण्ड पोष्ट’लाई तयारी हालतमा राख्ने निर्णय गरेको छ । आगलागी नियन्त्रणउन्मुख भएपछि विपद् पीडितको अवस्था र राहत तथा उद्धारको थप कार्यबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा जिल्लास्थित सुरक्षा अधिकारीको टोली दोभानबजार गएको छ । तमोर नदी र मैवाखोलाकोबिचमा रहेको दोभान बजार झुरुप्प बस्ति भएको ताप्लेजुङकै दोस्रो ठूलो बजार हो । त्यहाँ एकाध बाहेक प्राय सबै घर काठ र टिनले बनेका छन् । २०७७ साल फागुन १८ गते दोभान बजारमा आगलागी भएको थियो । त्यतिबेला दोभान बजारका करिव ४० वटा घर जलेर ध्वस्त भएका थिए । तमोर र मैवाखोलाबाट कटानको मार खेपीरहेको दोभान बजारमा निरन्तर बर्षा भइरहेकै समयमा आगलागी भएको हो ।

Similar Posts