तत्कालिन वनराज्यमन्त्रीसहित २४ जनाको ज्यान गएको फले दुर्घटनाको २० बर्ष पूरा,ताप्लेजुङमा मनाईयो संरक्षण दिवस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको उत्तरी क्षेत्र फले नजिक ढुङ्जे पहाडमा भएको हेलिकोप्टर दुर्घटनाको २० बर्ष पूरा भएको स्मरणमा बुधवार फुङलिङमा स्मृतिसभा सम्पन्न भएको छ ।
यहाँस्थित वातावरण संरक्षण तथा विकास मञ्चले आफ्नै भवनको प्रांगणमा स्मृतिसभाको आयोजना गर्दै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका २४ जना संरक्षणकर्मीको सालिकमा माल्यार्पण तथा दिवंगत सदस्यले संरक्षणको क्षेत्रमा दिएका योगदानको स्मरण गरेको हो । मञ्चले आफ्नै भवन परिसरमा फले दुर्घटनामा ज्यान गुमाएका २४ जनाको अर्धकदको सालिक निर्माण गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीताकुमारी सेन्दाङले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सदस्यहरुले नेपालको पर्यावरणीय विकास र संरक्षणका लागि दिएको योगदान अझै स्मरणीय रहेको बताउँदै उक्त दुर्घटनाले नेपालको संरक्षण क्षेत्र नै समस्यामा परेको बताउनुभयो । कोशी सरकारका पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य खगेनसिं हाङगामले उक्त दुर्घटनाले नेपालको जैविक तथा पर्यावरणीय विविधता संरक्षणको पैरवी गर्नेहरु पहाडी खोँचमा विलिन हुनु दुःख लाग्दो पक्ष भएको बताउनुभयो । उहाँले भूगोलविद्सहित देश बिदेशका ख्यातिप्राप्त व्यक्तिको निधनले देश अहिलेपनि विक्षिप्त अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्,समृद्ध पहाड परियोजनाकी चित्राकुमारी चंसु,हेलिकोप्टर दुर्घटनामा दिवंगत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का तत्कालिन अध्यक्ष दावाछिरिङ शेर्पाका सुपुत्र छोवाङलण्डुक शेर्पा,वातावरण संरक्षण तथा विकास मञ्चका अध्यक्ष खड्गविक्रम सुबेदीसहितले संरक्षणकर्मीको देहान्तले नेपालको पर्यावरणीय संरक्षणको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । २०६३ साल असोज ६ गते विश्वमै पहिलो पटक नेपालको वन क्षेत्र समुदायद्धारा व्यवस्थापन हुनेगरी व्यवस्थापन परिषद्लाई हस्तान्तरण गरेर असोज ७ गते संरक्षण क्षेत्रको घुन्सा पुगेर फर्कने क्रममा फलेस्थित ढुङ्गे पहाडमा श्री एअरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तत्कालिन वन राज्यमन्त्री गोपाल राई,उहाँकी श्रीमति मीना,भूगोलबिद् डाक्टर हर्क गुरुङसहितको निधन भएको थियो ।
हेलिकोप्टर दुर्घटनामा युएसएड नेपालकी मिशन उपप्रमुख मार्गरेट अलेक्जेन्डर,फिनल्यान्ड दूतावासका निमित्त राजदूत पौली मस्टनन,विश्व वन्यजन्तु कोषका डा. जील बोलिङ,डा. चन्द्रप्रसाद गुरुङ, जेनिफर हेडली,श्रीमती येशी छोदेन लामा,माथ्यु प्रिस,मिङ्मा नोर्वु शेर्पा, वन तथा भूसंरक्षण मन्त्रालयका कामु सचिव डा.दामोदरप्रसाद पराजुली,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायणप्रसाद पौडेल,वन विभागका महानिर्देशक शरदकुमार राई, संरक्षणविद् डा. तीर्थमान मास्के, डा. विजनन् आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का तत्कालिन अध्यक्ष दावाछिरिङ शेर्पा, पत्रकार हेमराज भण्डारी (नेपाल टेलिभिजन),क्यामेरामेन सुनिल सिंह (नेपाल टेलिभिजन)लगायत हेलिकोप्टरका चालकदलका सदीस्य क्लिम किम,मिङमा शेर्पा, फ्लाइट इन्जिनियर भ्यालेरी साफ्रोनोभ तथा गुरुवर तन्डुलकारले ज्यान गुमाउनु भएको थियो । सरकारले सोही दिनको स्मरण गर्दै हरेक बर्षको असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालेको हो ।