|

सम्झौता भएको झण्डै ५ बर्षमा पनि उस्तै सुकेटार–काफ्लेपाटी सडक,आउँदो असार मसान्तमा काम सक्ने कम्पनीको दावी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सुकेटार–काफ्लेपाटी सडकखण्ड निर्माणको ठेक्का लिएको कम्पनी एमएस कन्टेक प्रालिले समयमा काम गर्न नसकेको स्वीकार गर्दै चालु बर्षभित्रै उक्त सडक खण्ड पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

पाथीभरा दर्शनको पिक सिजनमै उक्त सडक खण्ड हिलाम्मे भएर यात्रु तथा सवारी चालकले सास्ति खेप्नु परेको ब्यापक जनगुनासोपछि निर्माण कम्पनीका प्रमुख हरिबाबु पन्तसहितको टोली कार्यस्थलमा आएको छ । पन्तले सुरुमा तयार भएको सडक निर्माणको बिस्तृत परियोजना प्रतिबेदन(डिपिआर)अनुसारका काममा भौगोलिक जटिलताले समस्या परेपछि त्यसलाई परिवर्तन गर्दा समय लागेको जानकारी दिनुभयो ।‘हामी मंसिर मसान्तसम्ममा सुकेटारबाट देउरालीसम्मको सडक खण्ड ग्राभेल तहको बनाउँछौं’पन्तले भन्नुभयो‘त्यसपछि बाँकी काम असारमसान्तसम्ममा सक्छौं’ । भौगोलिक जटिलताका कारण त्यहाँ पक्की सडक मात्र निर्माण गर्दा जोखिम हुने र सडकको टिकाउपनमा समेत समस्या आउने भएकोले करिव ६ किलोमिटर खण्ड पक्की भन्दा पनि ढलान गरिएको सडक आवश्यक हुने देखेर त्यसको बिस्तृत अध्ययनका कारण समय लागेको उहाँको भनाई छ ।

काम जिम्मा लिएको लामो समय भएको र कामको गतिमा अपेक्षाकृत नतिजा नआएको आफुलाई दुःख लागेको बताउँदै पन्तले अब उप्रान्त यात्रु तथा चालकको अपजस नखानेगरी काम गर्ने दावी गर्नुभयो । पन्तले सडक ढलानसहितका कार्यको लागि भौगर्भिक अध्ययन समेत जरुरी भएको देखेपछि भूगर्भबिद् प्रकाशचन्द घिमिरेसहितको टोली कार्य स्थलमा आएको जानकारी दिनुभयो । घिमिरेले आफुले सडक निर्माण क्षेत्रको अध्ययन गरेको र ७ दिन भित्र एमएस कन्टेक प्रालिलाई प्रतिबेदन दिने जानकारी दिनुभयो । नियमक निकाय तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयले सडक निर्माणको क्रममा सवारी भासिने र ननिस्कने क्षेत्रहरुमा मर्मतसम्भारको कार्य सुरु गरिएको जानकारी दिएको छ । सुकेटारबाट देउरालीसम्मको करिव ४ किलोमिटर सडक खण्ड पुससम्मा पूरा हुने र त्यसपछि बाँकी कार्य अगाडि बढ्ने तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालय डिभिजनल इञ्जिनियर सिंहबहादुर बिष्ट बताउँनुहुन्छ । निर्माण कम्पनीले सडक पक्की गर्न आवश्यक पर्ने उपकरणको बन्दोबस्ति गरिसकेकोले बाँकी कार्यमा समस्या नहुने आफुहरुको बुझाई रहेको बिष्टले बताउनुभयो ।

बिष्टका अनुसार अहिलेसम्म उक्त सडक खण्डको ४५ प्रतिशत हाराहारी भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । पक्की र ढलान बाहेक सडकका अरु संरचनाहरुको काम भइरहेको बताउँदै बिष्टले कम्पनीलाई अब कामबाट उम्कने छुट नदिई कार्यस्थलमा खटाउन आफुहरुले नियमित निगारानी गरिरहेको बताउनुभयो । कामलाई भनेजस्तो गति दिन नसकी काम अलपत्र पारेको भन्दै सडक कार्यालयले निर्माण कम्पनीलाई गत जेठ १५ गते १५ दिने स्पष्टीकरण समेत सोधेको थियो । सडक योजना कार्यालयले उतिबेला सम्झौता बमोजिम कार्य प्रगति नगरेको र तोकिएको म्यादमा काम सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएकोमा कार्यालयबाट पटक–पटक लिखित तथा मौखिम जानकारी,बैठक र निर्णय एवम् तागेता गराउँदा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएकोले कार्य सम्पन्न हुन नसक्नुको कारण सहित उपस्थित हुन निर्माण व्यवसायीलाई सचेत गराएको थियो ।

‘त्यसपछिका निर्माण कम्पनीले काममा अग्रसरता देखाएको छ,यसबर्ष भने फागुन अन्तिमबाटै परेको बर्षाले समेत निर्माणको काममा गति लिन नसकेको साँचो हो’डिभिजनल इञ्जिनियर बिष्टले भन्नुभयो । २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर ९९६ मिटर दूरीको सडक कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँ अर्थात् कुल ठेक्का रकमको ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । सम्झौता अनुसार २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको म्याद थपिदैं आएको छ ।‘स्पष्टीकरण सहितको सबै कार्य पूरा भएकोले अब निर्माण कम्पनीलाई म्याद थप्ने बिषय छैन’बिष्टले भन्नुभयो‘त्यही भएर यो सडक खण्ड चालु आर्थिक बर्ष भित्रै पूरा हुनुपर्छ र हुन्छ’।

Similar Posts