फक्ताङलुङका बिद्यालयमा अब प्रत्येक महिना परीक्षा,दुई मासिक परीक्षाको नतिजा विश्लेषण गरी पृष्ठपोषण दिईने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षाकोठामा शिक्षण सामग्रीको प्रयोग,शिक्षक डायरी,लगवुक,गृहकार्य,दिएको गृहकार्य चेकजाँच,मासिक परीक्षा र दुई मासिक परीक्षाबिचको तुलनालाई पालिकाका सबै बिद्यालयमा अनिवार्य गर्ने भएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)को अध्यक्षतामा बसेको बैठकले सिकाई उपलब्धी र समग्र बिद्यालय विकासमा प्रधानाध्यापकलाई जिम्मेवार ठहराउँदै तोकिएको जिम्मेवारी र शैक्षिक उद्धेश्य पूरा नगर्ने प्रधानाध्यापकको स्थानीय प्रोत्साहन भत्ता कटौति गर्ने निर्णय समेत गरेको छ । पालिकाले पालिकाका ४० वटै बिद्यालयका प्रधानाध्यापक,शैक्षिक दातृ निकायका प्रतिनिधि,पालिका शिक्षा शाखा र शिक्षाका सरोकारवालाबिच वृहत्त समन्वयतात्मक तथा समिक्षा बैठकमार्फत उक्त निर्णय लिएको हो । निर्णय अनुसार अब फक्ताङलुङ गाउँपालिकाका प्रत्येक बिद्यालयमा अब बिद्यार्थीलाई घरमा अध्ययनका लागि शिक्षकले अध्ययन तालिका अनिवार्य रुपमा बनाइदिनुपर्ने छ । अब पालिकाका प्रत्येक बिद्यालयमा हरेक च्याप्टरको अन्त्यमा कक्षामा परीक्षा लिइने छ भने हरेक महिनाको अन्त्यमा मासिक परीक्षा लिनुपर्ने छ । मासिक रुपमा लिईएको परीक्षाको कागजात सुरक्षित राखी अघिल्लो मासिक परीक्षा र हालसालै लिएको परीक्षाको तुलना गरी बिद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिने र बिद्यार्थीको शैक्षिक नतिजाका बारेमा अभिभावकलाई समेत नियमित जानकारी गराइने भएको छ । कक्षा कोठामा शिक्षण सामग्री,अभिभावक,शिक्षक तथा बिद्यार्थीको लगबुकको प्रयोग,प्रत्येक च्याटरको परीक्षा,मासिक परीक्षा र दुई मासिक परीक्षाबिचको तुलना तथा पृष्ठपोषणको व्यवहारिक कार्यान्वयनका लागि साझेदार दातृ निकायलाई जिम्मेवारी समेत दिईएको छ ।
फक्ताङलुङका सातवटै र सिरिजङ्गाका तीनवटा वडामा गुणस्तरीय सिकाई व्यवस्थापनमा सहयोग गर्दै आएको सार्मथ्य फाउण्डेसनका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार चारवटा संस्थाहरुलाई पालिकाले शैक्षिक गुणस्तर सुधारको परार्मश तथा तयार भएका शैक्षिक प्रवन्धको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी दिएको छ । पन्तका अनुसार ह्युमन प्राक्टिस फाउण्डेसनले पालिकाको वडा नं १ सावादिनमा रहेका शैक्षिक संस्था,एक्सन फर नेपालले वडा नं २ खेजेनिमका शैक्षिक संस्था,सार्मथ्य फाउण्डेसनले वडा नं ३ लिङखिम,वडा नं ४ इखाबु र वडा नं ५ तापेथोकका शैक्षिक संस्था र फेज नेपालले वडा नं ६ मा रहेका शैक्षिक संस्थामा शैक्षिक गुणस्तर सुधारको परार्मश तथा तयार भएका शैक्षिक प्रवन्धको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी पाएका छन् । यस्तो जिम्मेवारी प्राप्त गर्ने गैर सरकारी संस्थाका प्रतिनिधि गाउँपालिकाको शिक्षा शाखाको आधिकारिक प्रतिनिधिको मान्यतामा रहने भएका छन् । यसअघि रिड नेपालको जिल्ला कार्यक्रम प्रवन्धक रहँदा पन्त आफैंले लगबुकको प्रयोग,कक्षाकोठामा शिक्षण सामग्री अनिवार्यसहितको विधि प्रयोगमा ल्याउनु भएको थियो ।
गाउँ शिक्षा समितिको निर्णय अनुसार अब पालिकाभरीका सबै बिद्यालयमा एकै प्रकृतिको एसेम्बली हुने भएको छ ।‘यो नेपाली शीर उचाली…’गीतमा पिटी गराइने भएको छ भने कक्षा ४ देखि माथिका बिद्यार्थीलाई चौरमा र वाल कक्षा देखि कक्षा ३ सम्मका बिद्यार्थीलाई कक्षा कोठामै एसेम्बलीमा सहभागी गराइने भएको छ । पालिकाले प्रत्येक बिद्यालयका बिद्यार्थीहरुको क्षमता अनुसारको वर्गिकरण गरी सोहि अनुसार पठनपाठनमा सामेल गराउने निर्णय समेत गरेको छ । उक्त कार्यका लागि कक्षा ६–८ को एउटा बिषयका लागि एक शिक्षक र कक्षा ९–१० को एउटा बिषयका लागि एक शिक्षकको व्यवस्थापन गरिने निर्णय समेत पालिकाले गरेको छ । पालिकाले कक्षा १० को दिवा छात्रावासको कक्षा भदौ २५ गतेबाट सुरु गरेको छ भने कक्षा ८ को दिवा छात्रावास लगायत अन्य कोचिङ कक्षा मंसिर महिनाबाट सुरु गर्ने र दिवा छात्रावासको कक्षाका लागि प्रति बिषय प्रति शिक्षक १० हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
पालिकाले २०८३ साल असोज महिना भित्रमा पालिकाका सबै बिद्यालयहरुमा बिद्यालय व्यवस्थापन समितिको गठन गरिसक्ने भएको छ । बिद्यालय व्यवस्थापन समितिका लागि अभिभावक भेलाले कम्तिमा दुई महिलासहित चारजना सदस्य सर्वसम्मत चयन गरेमा अध्यक्षका लापिग हरेक सदस्यबाट ३ बर्षे बिद्यालय विकास योजना बिद्यालयमा दर्ता गराई शिक्षा शाखामा पेश गर्नुपर्ने हुन्छ । अन्य योग्यता शिक्षा दशौं संशोधन नियमावली २०८३ अनसार हुने छ भने सबै योग्यता पुगेका र उत्कृष्ट बिद्यालय विकास योजना पेश गर्ने उम्मेदवारलाई गाउँ शिक्षा समितिले बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सिफारिस गर्ने भएको छ । पालिकाले तह,योग्यता र दरबन्दी अनुसारको शिक्षक नपुग्ने देखिएको भन्दै अर्को व्यवस्था नभएसम्म हाल कार्यरत प्रधानाध्यापकलाई निरन्तरता दिने भएको छ । तर,प्रधानाध्यापकको कार्य सम्पादन सन्तोषजनक नदेखिएको खण्डमा गाउँ शिक्षा समितिमा सिफारिस गरी पठाउने अधिकार भने सम्वन्धित बिद्यालय व्यवस्थापन समितिलाई दिईएको छ । गुणस्तरीय र प्रभावकारी शिक्षण सिकाईमा अभिभावकको भूमिका थप बृद्धि गर्न पालिकाले टोलस्तरमा अभिभावक शिक्षा समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।