ट्रक दुर्घटना हुँदा चालक र ढुङ्गाले लागी हाईड्रोपावरमा काम गर्ने कामदार गरी दुईजना घाइते
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २३ । ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालक र जलविद्युतको सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गाले लागेर एकजना कामदार गरी दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार फुङलिङदेखि तापेथोकतर्फ सामान बोकेर जाँदै गरेको फेवा कन्ट्रक्सनको बा.प्र.–०३–००१ क ०४३९ नम्बरको ट्रक फक्ताङलुङ गाउँपालिका वडा नं ३ थिवास्थित कच्ची सडकमा अचानक ब्रेक फेल भई दुर्घटना हुँदा चालक प्रकाश मगर घाइते भएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं –६ बस्ने अन्दाजी २८ बर्षका चालक मगरको घुँडामा सामान्य चोट रहेको प्रहरीले जानकारी दिएको छ । ट्रक भने पूर्ण रुपमा क्षतिग्रस्त भएको र घटनाको थप अध्ययनका लागि सिँवा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक स्वर्णकुमार योक्पाङदेनको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता, फुङलिङ नगरपालिका वडा नं १० मित्लुङस्थित तमोर हाईड्रोपावरमा कामगर्ने कामदार ३८ बर्षिय दीपक श्रेष्ठ काम गर्ने क्रममा ढुङ्गाले लागी घाइते भएका छन् । ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिका वडा नं १ तलुवा ३८ बर्षिय श्रेष्ठलाई हाईड्रो पावरको सुरुङभित्र भित्र काम गर्दैगर्दा माथिबाट ढुङ्गा झरी लागेको थियो । श्रेष्ठको कुम तथा ढाडमा चोट रहेको र उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।