शिक्षकले स्थानीय भत्ता पाउने वा नपाउने ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पाथीभरा याङवरकले सोध्यो

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले शिक्षकले स्थानीय भत्ता पाउने वा नपाउने भन्ने बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सोधेको छ ।

शिक्षकको स्थानीय भत्ताका लागि भनेर बजेट नआएको तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२।८३ मा शिक्षकले स्थानीय भत्ता पाउने व्यवस्था उल्लेख भएकोले उक्त द्धिविधा हटाइदिन पाथीभरा याङवरकले केन्द्रसंग जवाफ मागेको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ मेन्याङ्वो लिम्बूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षकले स्थानीय भत्ता पाउने भए के कसरी र कुन तवरले पाउने र पाउने भए आवश्यक बजेट माग गर्ने तौढ तरिकाबारे प्रष्ट पारिदिन पालिकाकोतर्फबाट पत्र लेख्नु भएको छ ।

पालिकामा कार्यरत शिक्षकले स्थानीय भत्ता तथा कार्यक्रम कार्यान्वयन कार्यविधिमा उल्लेखित बिषयका बारेमा कुरा उठाएपछि पाथीभरा याङवरक गाउँ कार्यपालिकाले यसका बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सोधनी गरी लिखित जवाफ माग गर्ने निर्णय गरेको थियो ।

Similar Posts