उपाधि जित्न नसकेको फिदिमका अनुकेश चौथो ताप्लेजुङ गोल्डकपका सर्बोत्कृष्ट खेलाडी,पाए मोटरसाइकल उपहार
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । उपाधि जित्न नसकेपनि चौथो ताप्लेजुङ गोल्डकपमा पाँचथरको फिदिम स्पोर्टिङ क्लव सर्बोत्कृष्ट खेलाडीसहितको बिधागत पुरस्कार जितेर फर्किएको छ ।
फिदिम स्पोर्टिङ क्लवका अनुकेश शेर्माले खेल अवधिको सर्बोत्कृष्ट खेलाडी बन्दै बजाज कम्पनीको १२५ सिसीको एकथान मोटर साइकल पुरस्कार जित्नु भएको छ । फिदिमकै हिटेन सुहाङले बेष्ट फरवार्डको उपाधिसंगै नगद १५ हजार रुपैयाँ हत पार्नुभयोे । तेस्रो ताप्लेजुङ गोल्डकपमा भने बिजेता सलहेस युवा क्लवका छिरिङ गुरुङ सर्बोकृष्ट खेलाडी बन्दी यमाहा कम्पनीको एकथान मोटर साइकल पाउन सफल हुनु भएको थियो ।
चौथो ताप्लेजुङ गोल्डकपमा बेष्ट गोलकिपरको उपाधि सलहेसका दीप कार्की,बेष्ट डिफेण्डरमा सलहेसकै अभिषेक लिम्बू,बेष्ट मिडफिल्डरमा सलहेसकै रवीन लामा र बेष्ट प्रशिक्षकमा सलहेसकै राजीवकुमार यादव र सर्वाधिका गोलकर्तामा सलहेसकै फागुराम थारु घोषित हुनुभयो । उहाँहरुले जनही १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो । उदयीमान खेलाडीको उपाधि भने आयोजक ताप्लेजुङ–११ का शिशिर राई हुनुभयो । उहाँले नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनुभयो ।
प्याकेज टिकट र दैनिक खेलका लागि प्रवेशद्धारमै टिकट काटेर खेलको अवलोकन गरेर दर्शकमध्ये गोलाप्रथाद्धारा चयन हुने एक भाग्यमानी दर्शकको रुपमा मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका बिशाल लिम्बू घोषित हुनुभयो । उहाँले टिभिएस कम्पनीको एकथान स्कुटर उपहार पाउनुभयो । चौथो ताप्लेजुङ गोल्डकपको उपाधि भीडन्तमा रहेका सलहेस युवा क्लव र फिदिम स्पोर्टिङ क्लवबिचको खेलमा सलहेसले फिदिम माथि १–० को रोमाञ्चक जीत निकाल्यो ।