चौथो ताप्लेजुङ गोल्डकप : गृह मैदानमा आयोजकको टीम जर्जियन एफसीद्धारा स्तब्ध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । ताप्लेजुङको फुङलिङमा सुरु चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवले विजयी सुरुआत गरेको छ ।

आयोजक ताप्लेजुङ–११ लाई गृह मैदानमा २–१ ले स्तब्ध पार्दै प्रतियोगिताको एकमात्र अन्तराष्ट्रिय टोली जर्जियन युनाईटेडले सेमीफाईनलमा स्थान बनाएको हो । मध्यान्तर पछिको ४ मिनेटमा डिवक्स एरियाको बाँया भागबाट प्रहार गरेका जर्जियनका कप्तान गुञ्जमान थापाको प्रहारप्रति ताप्लेजुङ–११ का गोलरक्षक आकाश लिम्बूले भेउ पाउन सक्नु भएन र बलले सिधै जाली चुम्यो । मध्यान्तर पछि १–० को अग्रतामा रहेको जर्जियनले विपक्षी टिम बिरुद्धको खेललाई नियमित आक्रामक बनायो । पहिलो गोल गरेको केहि समयपछि ताप्लेजुङ–११ का खेलाडीले जर्जियनका कप्तान थापालाई फाउल गर्दा रेफ्री श्रवण लामाले जर्जियनलाई पेनाल्टीको मौका दिनुभयो । पेनाल्टी प्रहार गर्नु भएका जर्जियनका कप्तान थापाले आफ्नो प्रहारमा कुनैपनि गल्ति नगरी व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

२–० ले पछि परेको खेलमा फर्कन ताप्लेजुङ–११ का लागि संघर्षपूर्ण खेल खेल्नु अनिवार्य थियो । सोहि रणनीति अनुसार खेलमा आक्रामक रणनीति बुनेको आयोजक टीमका दीपेश लिम्बूले उत्कृष्ट गोल गर्दै खेलाई २–१ को स्थितिमा ल्याउनुभयो । खेल अन्तर कम गरेको आयोजक टीमले गोल फर्काउने थुप्रै प्रयास भने गर्‍यो । गोल अन्तरलाई जोगाउन जर्जियनले रक्षात्मक खेल खेल्दा आयोजकको टीमले थप गोल गर्न सकेन र खेल जर्जियनको पक्षमा गयो । मध्यान्तर अघिको खेल भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा उत्कृष्ट प्रर्दशन गरी टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका विजेता टिमका गुञ्जमान थापाले ७ हजार रुपैयाँ बराबरको अलैंची उपहार पाउनु भएको छ । ताप्लेजुङको प्रमुख नगदेवाली अलैंचीको प्रर्वद्धन र महत्व स्थापित गर्न म्यान अफ द म्याच बन्नेलाई अलैंची उपहार दिइने निर्णय भएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । पहिलो दिनको खेलबाट ३ लाख ३८ हजार ६ सय रुपैयाँको टिकट बिक्री भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

भदौ १३ गते शनिवार हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमने–सामने हुनेछन् । बिधागततर्फका सबै उत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । भदौ १९ गते सकिने प्रतियोगिता विजेताले नगद ७ लाख २ हजार ८३ र उपबिजेताले ३ हजार ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एकथान मोटर साइकल उपहार प्रदान गरिने भएको छ । भाग्यशाली दर्शक उपहार अन्तरगत टिकट काटेर खेलको अवलोकन गरेका दर्शकको टिकटलाई फाइनलको दिन एकै डालोमा राखेर गोलाप्रथाद्धारा एकजनालाई टिभिएस कम्पनीको एकथान स्कुटर प्रदान गरिने छ । यसअघि उद्घाटन चरणको कार्यक्रम अन्तरगत यहाँ रहेका विभिन्न समुदायका जातीय झाँकीहरुको प्रस्तुतिका साथ खेलको मस्कटको रुपमा प्रयोग गरिएको रेडपाण्डाको आवरणचित्र प्रर्दशनी सहित कार्यक्रम सुभारम्भ भएको थियो ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल सहित सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधिहरु,लाखेजात्रा सञ्चालन समितिका पदाधिकारीहरु,जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु,लाखेजात्रा सञ्चालन समितिका पूर्व अध्यक्षसहितको उपस्थिति रहेको थियो । कार्यक्रम अघि लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले चौथो ताप्लेजुङ गोल्डकपको संकेत दिनेगरी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा च्याव्रुङ नाच,धाननाध,घाटु नाच,लाखेनाच,डोकेनी नृत्य,स्यार्बोसहितका जातीय तथा अन्य साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Similar Posts