रसुवा बाढी पीडितका लागि आठराई त्रिबेणीद्धारा साढे ६ लाख बढी रकम जम्मा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले रसुवा बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साढे ६ लाख रुपैयाँ बढी सहयोग गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीका अनुसार कुल ६ लाख ५१ हजार ६ सय ७४ रुपैयाँ जम्मा गरिएको छ । राजवंशीका अनुसार पालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख,पालिकाका २८ जना जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधावापत १ लाख ७७ हजार ४ सय ५७ र पालिका मातहत कार्यरत कुल १ सय २ जना कर्मचारीको मासिक तलवको १० प्रतिशतले हुन आउने रकम ३ लाख ७४ हजार ३ सय ७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।

पालिकाको बिहीबार आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले पालिकाबाट १ लाख,पालिकाका सम्पूर्ण जनप्रतिनिधिको मासिक सुविधाको १५ दिन बराबरको सुविधा र पालिका र मातहतका कर्मचारीको मासिक १० प्रतिशतले हुन आउने रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको उक्त निर्णय कायाएन्वयन गर्दै बिहीबारै पालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजवंशीले जानकारी दिनुभयो ।

उता,पाथीभरा याङवरक गाउँपालिकाले पालिकाबाट १ लाख तथा पालिकाका सम्पूर्ण कर्मचारीको २ दिन बराबरको र जनप्रतिनिधिको १ दिन बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यहाँस्थित पाथीभरा बहुमुखी क्याम्पसले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्याम्पसकोतर्फबाट १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष शीला इजमले जानकारी दिनु भएको छ ।

Similar Posts