फक्ताङलुङद्धारा अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सुरु,उपचारमा १ लाखसम्म सहयोग
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पालिकाकै आर्थिक स्रोत व्यवस्थापन गरी स्वास्थ्य बीमामा आवद्ध गराउन थालेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्य सुरु भइसकेको छ । पालिकाले स्वास्थ्य क्षेत्रलाई बिशेष महत्व दिएर कार्यक्रम अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रक्रिया सुरु भएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले स्वास्थ्यकर्मीहरुलाई जन्मजात अपाङ्गता सम्वन्धी अभिमुखीकरण प्रदान गरी नवजात शिशु देखि ५ बर्ष मुनिका बालबालिकाहरुमा अपाङ्गताको प्रारम्भिक पहिचान तथा तथा नियमित स्वास्थ्य परीक्षण प्रणाली कार्यान्वयनमा ल्याईएको समेत पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । पालिकाले नव दम्पत्तिलाई शुभकामना कार्ड प्रदान गरी बच्चा जन्माउने योजना बनाएका दम्पत्तिलाई फोलिक एसिड सेवन सम्वन्धी सचेचनामुलक कार्यक्रम र परार्मश सेवालाई निरन्तरता दिँदै आएको समेत जनाएको छ । मानसिक स्वास्थ्य सम्वन्धी समुदायस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको,अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचार,पुर्नस्थापना तथा सहायता सामग्री प्रदान गर्ने कार्य भईरहेको समेत पालिकाले जनाएको छ ।
पालिकाले पालिकाका नागरिकहरु जिल्ला बाहिर उपचारका लागि जानु परेमा पालिकाको एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिएको जनाएको छ । २०८० साल देखि सुरु भएको यो सेवाबाट २०८३ साल असार मसान्तसम्ममा १ हजार ४ सय नागरिक लाभान्वित भएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले जिल्ला भित्रका स्वास्थ्य संस्थामा उपचार गर्न गएमा पालिकाका नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ । तर,यसका लागि चिकित्सकले पालिका भित्रका स्वास्थ्य संस्थामा उपचार हुन नसकी थप उपचारको आवश्यकता भएको सिफारिस पत्र दिनुपर्ने हुन्छ । पालिकाले पालिका क्षेत्रका नागरिकहरुको स्वास्थ्य उपचारका लागि न्यूनतम् २५ हजार देखि आर्थिक विपन्नता,असाहायसहितका बिषयको प्राविधिक अध्ययन पश्चात १ लाख रुपैयाँसम्म सहयोग गर्दै आइरहेको जनाएको छ ।