सार्मथ्य फाउण्डेसनले यसबर्ष कार्यक्षेत्रका २४ बिद्यार्थीलाई छात्रबृत्ति दिने,छात्रबृत्ति कोटा दोब्बरले बढ्यो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल सार्मथ्य फाउण्डेसनमार्फत अघिल्लो बर्षभन्दा दोब्बर बिद्यार्थीले उच्च शिक्षा छात्रबृत्ति पाउने भएका छन् ।
सार्मथ्य फाउण्डेसन यसअघि ग्रामीण शिक्षा तथा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको स्थानमा रिडकै कार्यक्षेत्रमा काम गर्ने गरी आएको संस्था हो । सार्मथ्य फाउण्डेसनका प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार चालु शैक्षिक सत्रदेखि २४ जना बिद्यार्थीले उच्च शिक्षा छात्रबृत्ति पाउने छन् । यसअघि १२ जना बिद्यार्थीले मात्र उच्च शिक्षा छात्रबृत्ति पाउने गरेका थिए । चालु शैक्षिक सत्रदेखि कार्यक्षेत्रका थप २ जना बिद्यार्थीले स्नातक तहसम्मको अध्ययनका लागि छात्रबृत्ति समेत छात्रबृत्ति पाउने पन्तले जानकारी दिनुभयो । करिव १८ बर्षसम्म ताप्लेजुङको उत्तरी क्षेत्रका १० वटा वडामा कार्यक्षेत्र बनाई काम गरेको रिड नेपालकै स्थानमा गत असार दोस्रो सातादेखि सार्मथ्य फाउण्डेसनमार्फत शैक्षिक गुणस्तर सुधारका क्रियाकलापले निरन्तरता पाएका छन् ।
प्रवन्धक पन्तका अनुसार सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्रमा अहिले १२ वटा माध्यमिक बिद्यालय रहेका छन् । फक्ताङलुङ गाउँपालिकाका ७ वटै वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन,वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खे सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्र हो । रिड नेपालले आफ्नो कार्य सञ्चालन समयावधि उत्तरार्धतिर फक्ताङलुङ गाउँपालिकाको वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमलाई कार्यक्षेत्र थप गरेको थियो । कार्यक्षेत्र थप भई फक्ताङलुङ गाउँपालिकाको पूरै क्षेत्र र सिरिजङ्गा गाउँपालिकाका ३ वटा वडा गरी कुल १० वटा वडामा रहेका सबै बिद्यालय सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्रमा छन् । रिड नेपाल र सार्मथ्य फाउण्डेसनको आर्थिक सहयोग गर्ने निकाय हिमालयन् ट्रष्ट युके नै हो ।
सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्रका १२ वटा माध्यमिक बिद्यालयबाट एसईई परीक्षामा सर्बोत्कृष्ट अंक ल्याउने १२ जना बिद्यार्थीले स्वतःछात्रबृत्ति पाउनेछन् । थप १२ जना प्रतिश्पर्धाका आधारमा छानिने पन्तले जानकारी दिनुभयो ।‘प्रतिश्पर्धा हुने भएकोले एउटै बिद्यालयबाट दुई वा दुई भन्दा बढीले पनि छात्रबृत्ति पाउन सक्नुहुन्छ’पन्तले भन्नुभयो । छात्रबृत्ति पाउन प्रतिश्पर्धा सम्वन्धीको आबेदन बुधवार प्रकाशन गर्ने तयारी भइरहेको समेत पन्तले बताउनुभयो । सार्मथ्य फाउण्डेसनको कार्यक्षेत्रमा ५४ बिद्यालय रहेका छन् । केहि समयअघि मात्र सार्मथ्य फाउण्डेसने कार्यक्षेत्र भित्रका ५४ बिद्यालयका ५४ जना बिद्यार्थी आर्थिक प्रोत्साहन अवार्ड दिएको थियो भने उत्कृष्ट शिक्षक,उत्कृष्ट बाल विकास शिक्षक,सर्बोत्कृष्ट तथा उत्कृष्ट बिद्यालय,उत्कृष्ट बिद्यालय कर्मचारी र उत्कृष्ट स्रोत शिक्षक समेतलाई नगदसहित पुरस्कृत गरिसकेको छ । रिड नेपालको यसअघिको भूमिका सार्मथ्य फाउण्डेसनमा रुपान्तरण भएपनि काम गर्ने शैली र कार्यक्रम रिड नेपालको झैं हुने सार्मथ्य फाउण्डेसनका प्रवन्धक पन्तले जानकारी दिनुभयो ।