मुक्कुमलुङ साहित्यिक प्रतिष्ठान अध्यक्षमा हेल्लोक चयन
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ६ । ताप्लेजुङस्थित मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले साहित्यकार हेल्लोक अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
प्रतिष्ठानको कार्यसमिति उपाध्यक्षहरुमा सीता पिरती, मणि सेम्बु र देवानसिंह मादेन चयन हुनुभएको छ । महासचिवमा उदय भट्टराई, सचिव नवराज आचार्य, कोषाध्यक्ष लीला आँसु, सहसचिव लक्ष्मी चुडाल र सहकोषाध्यक्षमा केबी किराँती चयन हुनुभएको निर्वाचन समितिका संयोजक युवराज गिरीले जानकारी दिनुभयो ।
निर्वाचन संयोजक गिरीका अनुसार साहित्यकार चन्द्र मादेन (आन्छन्) संयोजक रहेको नौ सदस्यीय सल्लाहकार समितिसमेत साधारणसभाले चयन गरेको छ । सल्लाहकार समिति सदस्यमा भरतकुमार गुरुङ, डिल्लीरमण बराल, लेकाली कान्छा, काजीमान गुरुङलगायत रहनुभएको छ ।
जिल्लामा साहित्य प्रवर्धन र विकासमा टेवा पु¥याउने साथै साहित्य सर्जकहरुको संरक्षण, उत्पादनलगायत संस्थागत हितका कामहरु गर्नेगरी एक वर्षअघि मुक्कुमलुङ साहित्यिक प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठान स्थापना भएको करिव एक वर्षपछि प्रथम साधारणसभा सम्पन्न गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो ।
उहाँका अनुसार साधारणसभाको अवसरमा अग्रज साहित्यकार चन्द्र मादेन (आन्छन्) र समाजसेवी सङ्गीतकार काजी गुरुङलाई सम्मानसमेत गरिएको छ । यता प्रतिष्ठानले शनिबार बिहान आपसी सद्भाव, एकता र विश्वशान्तिको कामना गर्दै साहित्यिक पदयात्रासमेत आयोजना गरेको थियो । ‘साहित्यका लागि पाइला, सद्भावका लागि यात्रा, विश्वशान्तिका लागि एकता’ भन्ने नारासहित सदरमुकाम फुङ्लिङदेखि सुकेटारसम्म आठ किलोमिटरको दूरी रहेको सडक मार्गमा पदयात्रा गरिएको थियो ।