मैवाखोलाले पालिकाका सडक बाह्रैकाल सञ्चालन हुने तहको बनाउने,एकीकृत बस्ति विकास गुरुयोजना बन्दै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रका सडक सञ्जाल बिस्तार,स्तरोन्नती तथा नियमित मर्मतसम्भारगरी बाह्रैकाल सवारी सञ्चालनको व्यवस्था मिलाउने भएको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाका नागरिक,सहज,सुरक्षित र भरपर्दो यातायात सेवाको बिस्तार गरी जनजीवनलाई थप सहज र गुणस्तरीय बनाउन सडक तथा यातायात पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको हो । पालिकाले उक्त कार्यका लागि चालु आर्थिक बर्षमा २ करोड ५० लाख ७९ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक सञ्जालको बिस्तार,नियमित मर्मतसम्भार र स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखी पालिका भित्रका सडडमा बाह्रैकाल सवारी सञ्चालन गर्ने अवस्था बनाउन आफुहरुले बिशेष ध्यान दिएको पालिका अध्यक्ष वनेमको भनाई रहेको छ ।
चालु आवमा पालिकाले एकीकृत बस्ति विकास गुरुयोजना निर्माण गरी पहिरो बिस्थापित परिवारको स्थायी पुर्नवास गर्ने कार्यक्रम तय गरेको छ । पालिकाको वडा नं ४ ओदक तथा ताम्राङ र वडा नं ३ साँघुका गरी ६५ घर परिवार अहिले पालिकाले निर्माण गरेको अस्थायी एकीकृत आवासगृहमा रहेका छन् । उनीहरुलाई स्थायी पुर्नवास गराउने लक्ष्यसहित पालिकाले प्रकृया अघि बढाईरहेको जनाएको छ । पालिकाले भवन तथा बस्ति विकासतर्फ चालु आवबाटै निर्माणाधिन प्रमुख प्रशासकीय भवन सञ्चालनमा ल्याउनेगरी लिफ्ट फिटिङ तथा ट्रस भ¥याङ जडान गर्ने कार्य अघि बढाउने भएको छ ।
एकीकृत बस्ति विकास गुरुयोजना निर्माण गरी पालिकाको आवासीय क्षेत्र पहिचान गर्नेसहितका कार्य चालु आवमा सम्पन्न गर्ने पालिकाले जनाएको छ । यसबाहेक पालिकाले सोनाम छ्योलिङ गुम्बा निर्माण कार्य पूरा गर्ने,वडा नं ४ मा रहेको निर्माणाधिन अधुरो स्वास्थ्य संस्थाको काम पूरा गरी चालु अवस्थामा ल्याउने,गंगा आधारभूत बिद्यालयको खेल मैदान,महेन्द्र माविको अधुरो भवन निर्माण,मालिङ्गेनी आविको शौचालय भवन निर्माण तथा पालिकाका ६ वटै वडामा आवश्यक पूर्वाधार निर्माण र पालिका क्षेत्रका बिभिन्न पूर्वाधारको घेराबारा निर्माणका लागि पालिकाले पालिकाले ४ करोड २४ लाख ९ हजार रुपैयाँ खर्च गर्नेगरी बजेट बिनियोजन गरेको जनाएको छ ।