मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानद्वारा साहित्यिक पदयात्रा आयोजना
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ६ । ताप्लेजुङस्थित मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले साहित्यिक पदयात्रा आयोजना गरेको छ । आपसी सद्भाव, एकता र विश्वशान्तिको कामना गर्दै प्रतिष्ठानले शनिबार साहित्यिक पदयात्रा आयोजना गरेको हो ।
प्रतिष्ठानको प्रथम साधारणसभाको अवसरमा साहित्यिक पदयात्रा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । ‘साहित्यका लागि पाइला, सद्भावका लागि यात्रा, विश्वशान्तिका लागि एकता’ भन्ने नारासहितसदरमुकाम फुङ्लिङदेखि सुकेटारसम्म पदयात्रा गरिएको अध्यक्ष हेल्लोकले बताउनुभयो ।
सडक मार्गअन्तर्गत आठ किलोमिटर दुरी रहेको फुङ्लिङ बजारदेखि सुकेटारसम्म शनिबार बिहान साहित्यिक पदयात्रा गरिएको छ । पदयात्रामा जिल्लाका साहित्य सर्जकलगायत सहभागी हुनुभएको प्रतिष्ठानका अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो ।
सदरमुकाम नजिकको सुकेटार क्षेत्र पर्यटकीय स्थलसभेत भएकाले सद्भाव, एकता र विश्वशान्तिसँगै पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले समेत पदयात्रा आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । यता पदयात्रा सम्पन्न गरेपश्चात पर्यटकीय नगरी सुकेटारमा नै प्रतिष्ठानको साधारणसभा सुरु भएको छ ।
प्रथम साधारणसभा तथा अधिवेशनले प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो । साधारणसभामा जिल्लाका अग्रज साहित्यकार सहितका सर्जकहरु सहभागी हुनुभएको छ भने सहभागी साहित्य सर्जकहरुको सिर्जना प्रस्तुतिसहित साधारणसभालाई भव्य बनाइएको प्रतिष्ठानले जनाएको छ ।