फुङलिङ बजारका भित्री सडकमार्गमा एकतर्फी आवागमन सूची,अब बजारबाट बाहिरिन बुद्धचौक हुँदै तोक्मे निस्कनुपर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३० । ताप्लेजुङको फुङलिङ बजारका भित्री सडकमार्गमा चारपाङ्ग्रे सवारी साधनको आवागनलाई(वान वे)एकतर्फी बनाईने भएको छ ।
सवारी साधनको बढ्दो चाँपलाई व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतवारबाट लागु हुनेगरी चारपाङ्ग्रे सवारी साधनको आवागनलाई एकतर्फी बनाउने जनाएको छ ।‘हामीले शनिवार देखि एकतर्फी आवागमन बारे सवारी चालकलाई जानकारी गराएका छौं’एकतर्फी आवागमन बारे सवारी चालकलाई तोक्मे क्षेत्रमा रहेर जानकारी दिईरहेको भेटिनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक हवल्दार सन्तोष काम्वाङले भन्नुभयो । उहाँका अनुसार आइतवार समेत सवारी चालकलाई एकतर्फी आवागमन बारेको सूचना प्रेषित गर्ने र सोमबारबाट एकतर्फी सवारी आवागमनलाई कडाईका साथ कार्यान्वयनमा ल्याइने छ । सोमबारबाट भने अब सवारी आवागनमको नियम उल्लंघन गरे जरीवाना सहितको कारवाही हुने काम्वाङले जानकारी दिनुभयो ।
नयाँ नियम अनुसार अब दोबाटो हुँदै तोक्मेतर्फ सवारी साधन जान पाउने छैनन् । तोक्मेतर्फ निस्कने सवारी साधनले बुद्धचौक–तोक्मेहाट क्षेत्र हुँदै ब्यारेक अगाडि निस्कन पाउनेछन् । तोक्मेबाट दोबाटो हुँदै आउने सवारी भने बजार क्षेत्र प्रवेश गर्न पाउने छन् । दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचौक निस्कन सकिन्छ भने वीरेन्द्रचौकबाट कोप्चे हुँदै दोबाटोतर्फ जान भने पाइने छैन । यो मार्गमा यसअघि देखि नै कायम रहेको एकतर्फी आवागमन साविकको तालिकामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । व्यवस्थित पार्किङको अभाव र बढ्दो सवारी चाँपलाई मध्यनजर गरी यस्तो योजना बनाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
ताप्लेजुङको नयाँ प्रहरी प्रमुख भएर आएलगत्तै जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले बढ्दो सवारी चाँप र सन्निकट बनेका चाडपर्व तथा मेला उत्सवलाई ध्यान दिएर सवारी आवागमन व्यवस्थित गर्न जरुरी भएको बताउनु भएको थियो । त्यसको भोलिपल्टै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले तोक्मे–शान्ति टोल–दोबाटो हुँदै माथिल्लो रोडको सडकमा चारपाङ्ग्रे सवारी साधनको एकतर्फी आवागमनको कार्यसूची बनाएको हो ।
एकतर्फी आवागमन सूचीबारे चालकलाई जानकारी गराउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रसह सन्तोष काम्वाङ ।