मुक्कुमलुङ साहित्य प्रतिष्ठानको वार्षिक उत्सवमा सिर्जना वाचन र कृतिको विमर्श
-प्रयास लिम्बू
ताप्लेजुङ, साउन २५ । ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा सिर्जना वाचन र कृतिको विमर्श आयोजना गरिएको छ । प्रतिष्ठानको प्रथम वार्षिक उत्सवमा साहित्य सर्जकहरुको सिर्जना वाचन र ‘चन्द्र मादेन आन्छन् कथाहरु’ नामक कथा सङ्ग्रहको विमर्श गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित वार्षिक उत्सव कार्यक्रममा करिव ५० जना स्थानीय साहित्यकारले सिर्जना वाचन गरेका प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । जिल्लाका जुझारु साहित्यकारका रुपमा समेत परिचित अध्यक्ष हेल्लाकका अनुसार हर्क यक्सो, भरतकुमार गुरुङ, लक्ष्मी चुडाल, लीला आँसु, सीता पिरती, लेकाली कान्छा ‘मुक्कुम’ लगायतका सर्जकहरुले सिर्जना वाचन गर्नुभएको थियो ।
साहित्य सर्जकहरुले देशभक्ति, सामाजिक भाव झल्किने तथा कु–रीति, कुसंस्कार र विकृतिबिरुद्ध सचेतना साथै सकारात्मक सन्देश फैलाउने खालका शब्दहरु समेटिएका कविता, गजल, मुक्तकलगायत विधाका सिर्जनाहरु प्रस्तुत गरेका प्रतिष्ठानका अध्यक्ष हेल्लेकले जानकारी दिनुभयो ।
प्रतिष्ठानको वार्षिक उत्सवकै अवसरमा साहित्यकार चन्द्र मादेन ‘आन्छन्’ को कृति ‘चन्द्र मादेन आन्छन्का कथाहरु’ कथा सङ्ग्रहको विमर्श एवम् समीक्षा गरिएको छ । प्रतिष्ठानका अनुसार कथा सङ्ग्रहको साहित्यकारद्वय नवराज आचार्य र हर्क यक्सोले समीक्षा तथा टिप्पणी गर्नुभएको थियो । मादेनको कथा कृतिमा १० वटा कथाहरु समावेश छन् भने पुस्तक ११२ पृष्ठको रहेको छ ।
यस्तै वार्षिक उत्सव कार्यक्रममा अग्रज साहित्यकार रविमान लम्जेललाई प्रतिष्ठानले सम्मान गरेको छ । तेह्रथुमको आठराई जन्मस्थान भएका साहित्यकार लम्जेलले वि.सं २०३४ देखि २०६८ सालसम्म कर्मथलोका रुपमा ताप्लेजुङ बस्दा साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
साहित्यकार लम्जेललाई कदरपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो । शिक्षक सेवाबाट सेवानिवृत हुनुभएका साहित्यकार लम्जेलका कविता, गजल, निवन्ध, कथालगायत विधाका आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् । उहाँलाई कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल लगायतले सम्मान गर्नुभएको थियो ।
जिल्लामा साहित्य सर्जकहरु उत्पादन तथा क्षमता अभिवृद्धि गर्ने, साहित्य लेखनमा निखारपन ल्याउने र साहित्यको प्रवर्धन साथै विकासमा टेवा पु¥याउने उद्देश्यले वार्षिक उत्सवमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको अध्यक्ष हेल्लेकले बताउनुभयो । यता कार्यक्रममा बाँसुरी बादनका पारखी काजी गुरुङले विभिन्न गीत, सङ्गीतमा आधारित धुनमा बाँसुरी बजाएर सहभागीलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।